२९ मंसिर, काठमाडौं ।
नेकपा (एमाले)को ११औँ महाधिवेशन भृकुटीमण्डपमा जारी छ। आजबाट नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ।
नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा उत्रिएका छन्। दुवै नेताले प्यानलै बनाएर निर्वाचनमा होमिएका छन्।
ओली प्यानलबाट शंकर पोखरेल महासचिव पदमै दोहोरिने निश्चित भएको छ। उपाध्यक्ष पदका लागि विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल र पृथ्वीसुब्बा गुरुङको नाम टुंगो लागिसकेको छ। ओली समूहले प्रदीप ज्ञवालीलाई पनि उपाध्यक्षको सूचीमा राखे पनि उनको नाम भने अन्तिम रूपले तय भइसकेको छैन।
उपमहासचिव पदमा विष्णु रिमाल, लेखराज भट्ट र रघुवीर महासेठको नाम फाइनल भएको छ। नौ सचिव पदका लागि शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, पद्मा अर्याल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र भानुभक्त ढकालको नाम टुंगो लागेको स्रोतले जनाएको छ।
यता, ईश्वर पोखरेलले पनि आफ्नो प्यानल तयार पारिसकेका छन्। पोखरेल प्यानलबाट महासचिव पदमा सुरेन्द्र पाण्डेको नाम टुंगो लागेको छ। उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार बन्ने निश्चित भएको छ।
उपमहासचिव पदमा योगेश भट्टराईको नाम पक्का भएको छ भने बैजनाथ चौधरी पनि उपमहासचिवका सम्भावित उम्मेदवारको सूचीमा छन्। सचिव पदमा रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेललगायतका नाम करिब टुंगो लागेको स्रोतले बतायो। साथै, कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाको नाम पनि पोखरेल समूहको सचिव सूचीमा समावेश गरिएको छ।
निर्वाचन तालिकाअनुसार आज सबै प्रक्रिया पूरा गरी पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुनेछ। उम्मेदवारहरूको प्रारम्भिक नामावली आज दिउँसो साढे २ बजे सार्वजनिक गरिनेछ। त्यसपछि दिउँसो साढे २ बजेदेखि ३ बजेसम्म उजुरी दर्ताको समय तोकिएको छ।
उजुरीमाथि जाँचबुझलगायतका प्रक्रिया पूरा गरेपछि आज साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ।