]काठमाडौं ।
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा चयन हुने ९ जना सचिव पदमध्ये कोशी प्रदेशबाट तीन जना नेताले दाबेदारी प्रस्तुत गरेका छन्। अध्यक्ष केपी शर्मा ओली समूहबाट कोशी प्रदेशका वर्तमान मुख्यमन्त्री हिक्मत कार्की र पूर्वमुख्यमन्त्री शेरधन राई उम्मेदवारीको तयारीमा छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहबाट मोरङका नेता विनोद ढकाल मैदानमा उत्रिने भएका छन्।
ओली समूहबाट सचिवमा उठ्न लागेका शेरधन राई स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज हुन्। भोजपुरबाट २०५६ सालमै प्रतिनिधिसभा निर्वाचन जितेका राई कोशी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत हुन्। यसअघि विद्या भण्डारी निकट मानिएका राई पछिल्लो समय ओली पक्षमा खुलेर सक्रिय देखिएका छन्।
त्यस्तै, हिक्मत कार्की पनि स्थायी कमिटी सदस्य रहिसकेका नेता हुन्। झापाको गौरादह घर भएका कार्की विद्यार्थी राजनीतिबाट उदाएका हुन्। अध्यक्ष ओलीकै निर्वाचन क्षेत्रका नेता कार्की २०७९ सालको निर्वाचनमा झापा क्षेत्र नम्बर ५ प्रदेशसभा ‘क’ बाट निर्वाचित भएका थिए, जहाँ संघीय तहमा ओली विजयी भएका थिए।
यता, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहबाट मोरङका नेता विनोद ढकाललाई सचिव पदको उम्मेदवार बनाउने तयारी छ। केन्द्रीय सल्लाहकार परिषद् सदस्य रहेका ढकाल मोरङमा प्रभावशाली नेताका रूपमा चिनिन्छन्। गत कोशी प्रदेश अधिवेशनमा अध्यक्षका उम्मेदवार बनेका ढकाल ओली पक्षका उम्मेदवारसँग पराजित भएका थिए।
कुनै समय ओलीकै संरक्षणमा रहेका ढकाल प्रदेश अधिवेशनपछि किनारामा परेको बताइन्छ। तर पराजयपछि उनले मोरङ जिल्लामा संगठन सुदृढ गर्दै लगेका छन्। पछिल्ला जिल्ला तथा विराटनगर महानगर कमिटी निर्वाचनमा ढकाल पक्षधर उम्मेदवारहरूले ओली पक्षका उम्मेदवारलाई पराजित गरेका थिए।
मोरङमा ढकाल पक्षको पकड बलियो बन्दै गएपछि एमाले संस्थापन पक्ष दबाबमा परेको देखिन्छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, इन्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य भानुभक्त ढकाललगायत नेताहरूले संयुक्त प्रयास गर्दा पनि विनोद ढकाल नेतृत्वको प्यानललाई रोक्न नसकेको स्थानीय नेताहरू बताउँछन्।