काठमाडौं
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पदाधिकारी पद छाड्दै केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएपछि पार्टी नेतृत्वमा तरंग पैदा भएको छ। अध्यक्ष केपी शर्मा ओलीका निकट र संकटका बेला वैचारिक ‘सारथि’ मानिएका ज्ञवालीको यो निर्णयलाई ओली समूहका लागि ठूलो झड्का मानिएको छ।
एमालेको ११औँ महाधिवेशनलाई नेतृत्वले ‘एकताको महाधिवेशन’का रूपमा व्याख्या गरिरहँदा ज्ञवालीको कदमले भने नेतृत्वभित्र असन्तोष गहिरिएको संकेत दिएको छ। महासचिवमा शंकर पोखरेललाई पुनः दोहोर्याउने ओलीको निर्णयपछि आफू उपेक्षित भएको महसुस गर्दै ज्ञवालीले उपाध्यक्ष पद अस्वीकार गरी केन्द्रीय सदस्यमा सीमित हुने निर्णय गरेका हुन्।
महाधिवेशनस्थल भृकुटीमण्डपमा उम्मेदवारी दर्ता गरेपछि ज्ञवाली भावुक देखिएका थिए। पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो मन गहिरो रूपमा दुखेको बताए।
‘एउटै व्यक्तिलाई पटक–पटक दोहोर्याउने प्रवृत्ति ठिक भएन,’ ज्ञवालीले भने, ‘म पार्टी आन्दोलनका हरेक मोर्चामा उभिएको छु। तर प्रतिस्पर्धा र समान अवसरको अपेक्षा पूरा भएन।’
ज्ञवाली एमालेभित्र अध्ययनशील, तार्किक र वैचारिक रूपमा सक्षम नेताका रूपमा चिनिन्छन्। पार्टी स्कुल विभागमार्फत देशभर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै नेता–कार्यकर्तामा वैचारिक स्पष्टता दिने काममा उनको महत्वपूर्ण योगदान रहँदै आएको छ। ओलीको आलोचना चर्किँदा समेत उनी शालीन र बौद्धिक शैलीमा नेतृत्वको प्रतिरक्षा गर्दै आएका थिए।
पार्टीका महत्वपूर्ण दस्तावेज, राजनीतिक सहमति र वैचारिक लेखनमा समेत ज्ञवालीको भूमिका प्रभावकारी रहँदै आएको नेताहरू बताउँछन्। तर महासचिवमा पोखरेललाई पुनः जिम्मेवारी दिइएपछि नेतृत्वप्रति उनको असन्तोष सार्वजनिक भएको हो।
यसअघि सचिवालय बैठकमा ज्ञवालीले नेतृत्वले गरेका कमजोरीप्रति आत्मालोचना हुनुपर्ने अडान राखेका थिए। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण प्रकरणमा समेत उनले अध्यक्ष ओलीको निर्णयप्रति असहमति जनाएका थिए। त्यसयता ओली र ज्ञवालीबीच दूरी बढ्दै गएको आकलन पार्टीभित्र भइरहेको छ।
एमालेभित्र महासचिवको भूमिकालाई प्रभावकारी बनाउन ज्ञवालीलाई अघि सार्नुपर्ने आवाज उठे पनि ओलीले पोखरेललाई नै दोहोर्याएका हुन्। पोखरेल संगठन निर्माणभन्दा अध्यक्षको सहयोगी भूमिकामा सीमित भएको आलोचना पार्टी वृत्तमा हुँदै आएको छ।
ढिलो गरी महाधिवेशनस्थल पुगेका ज्ञवालीले अन्ततः केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दर्ता गराए। प्रत्यक्षदर्शीका अनुसार उम्मेदवारीपछि उनी भावुक हुँदै स्थलबाट फर्किएका थिए।
ज्ञवालीको उम्मेदवारीमा लुम्बिनी प्रदेश कमिटी सदस्य पर्शु पाण्डे प्रस्तावक र कालीगण्डकी गाउँपालिकाका अध्यक्ष रामजी ढकाल समर्थक रहेका छन्। ईश्वर पोखरेल समूहले आफ्नो टिममा आउन आग्रह गरे पनि ज्ञवालीले त्यो प्रस्ताव अस्वीकार गर्दै स्वतन्त्र रूपमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्।
उनको यो निर्णयलाई एमालेभित्र नेतृत्व शैली, आन्तरिक लोकतन्त्र र अवसरको न्यायोचित वितरणबारे गम्भीर प्रश्न उठ्ने घटनाका रूपमा हेरिएको छ।