काठमाडौँ
नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता सकिँदासम्म आइपुग्दा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूह एकढिक्का रहन नसकेको देखिएको छ। अध्यक्ष पदमा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा निश्चित भएसँगै दुवै पक्षले प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन्।
तर उम्मेदवारी दर्ताकै क्रममा ओली समूहबाटै असन्तुष्टि र विचलनका संकेत देखिएका छन्। ओलीनिकट मानिने कृष्णगोपाल श्रेष्ठ, रघुजी पन्त, राजेन्द्र गौतमलगायत नेताहरू ओली समूहबाट बाहिरिँदै पोखरेल समूह वा स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गर्न पुगेका छन्।
ओली समूहभित्र असन्तुष्टिको मुख्य कारण पद बाँडफाँट र आकांक्षा व्यवस्थापनमा चुक्नु रहेको नेताहरूको भनाइ छ। उपमहासचिव प्रदीप ज्ञवालीलाई उपाध्यक्ष बनाउने भनिए पनि अन्तिम समयमा महासचिवमा शंकर पोखरेललाई दोहोर्याउने निर्णय भएपछि ज्ञवाली असन्तुष्ट बने। उनले अन्ततः केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिए। ज्ञवालीलाई मनाउन अध्यक्ष ओलीसहित विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ सक्रिय भए पनि सहमति जुट्न सकेन।
यस्तै, सचिव पदका लागि ओली समूहबाट अघि सारिएका लेखराज भट्टराईले मानेनन् र उपमहासचिवमा उम्मेदवारी दिए। भानुभक्त ढकालले पनि उपमहासचिवको प्रस्ताव अस्वीकार गर्दै सचिवमा उम्मेदवारी दर्ता गरे। उपाध्यक्षका आकांक्षी रघुजी पन्त, उपमहासचिवका आकांक्षी राजेन्द्र गौतम र सचिवका आकांक्षी अग्नि खरेल ओलीको टिममा नअटाएपछि स्वतन्त्र उम्मेदवार बनेका छन्।
ओली समूहबाट बाहिरिएका कृष्णगोपाल श्रेष्ठले भने ईश्वर पोखरेल समूहबाट सचिव पदमा उम्मेदवारी दिएका छन्। लामो समय ओलीका कट्टर समर्थक मानिने श्रेष्ठ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमाले सदस्यता नदिएको विषयमा असन्तुष्ट हुँदै ओलीबाट टाढिएको उनी निकटहरूको भनाइ छ।
ओलीनिकट एक पदाधिकारीका अनुसार, यसपालि सीमित नेताहरूले ‘सानो घेरामा’ बसेर टिम बनाउँदा पार्टीभित्र व्यापक भावना समेट्न नसकिएको हो। “अँध्यारो कुनामा बसेर बनाइएको टिमले मेचीदेखि महाकालीसम्मका नेताहरूको भावना समेट्न सकेन,” उनले भने, “यसको असर परिणाममा पर्न सक्छ।”
उम्मेदवारी दर्ताको समय सकिएको निर्वाचन आयोगले जनाएको छ। महाधिवेशनअन्तर्गत देखिएको यो आन्तरिक असन्तुलनले ओली समूहको चुनावी परिणाममा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ।