काठमाडौँ।
नेपालको संविधानले व्यवस्था गरेको मिश्रित निर्वाचन प्रणालीअनुसार प्रतिनिधिसभाका कूल २७५ सदस्यमध्ये १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने प्रावधान छ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तय गरेको छ। उक्त निर्वाचनमा मतदाताले दुईवटा मतपत्रमार्फत मतदान गर्नेछन्। संविधानअनुसार राजनीतिक दलहरूले प्रत्यक्ष तथा समानुपातिक दुवै निर्वाचन प्रणालीमा सहभागी हुन सक्ने व्यवस्था छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार यसपटक केही राजनीतिक दलले प्रत्यक्ष निर्वाचन प्रणालीमा मात्रै भाग लिई समानुपातिकतर्फ सहभागी नहुने भएका छन्। आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी हुन १०० राजनीतिक दलले दर्ता गराएका छन्, जसका लागि ९३ वटा निर्वाचन चिन्ह उपलब्ध गराइएको छ।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ भने कूल ११४ राजनीतिक दल दर्ता भएका छन्। आयोगले तोकेको कार्यविधि पूरा गरी निर्वाचन प्रयोजनका लागि १०२ राजनीतिक दल दर्ता भएका छन् भने राजनीतिक दलसम्बन्धी नियमावलीअनुसार एकल चुनाव चिन्ह लिई १२ राजनीतिक दलले दर्ता गराएका छन्।
आयोगका अनुसार निम्न १४ राजनीतिक दलले प्रत्यक्ष निर्वाचन प्रणालीमा सहभागी भए पनि समानुपातिक निर्वाचन प्रणालीमा भने भाग नलिने भएका छन्। ती दलहरूमा राष्ट्रिय समता पार्टी नेपाल, विकासशील जनता पार्टी, राष्ट्रिय साझा पार्टी, परिवर्तन पार्टी, युनाइटेड नेपाल डेमोक्र्याटिक पार्टी, नेपाल नौलो जनवादी पार्टी, राष्ट्रिय समुन्नति पार्टी, राष्ट्रवादी केन्द्र नेपाल, राष्ट्रवाद युवा मोर्चा, लोक दल, राष्ट्रवादी एकता पार्टी, विवेकशील साझा पार्टी, देशभक्त लोकतान्त्रिक पार्टी र नेपाल सर्वोदय पार्टी रहेका छन्।
समानुपातिकतर्फका सहायक निर्वाचन अधिकृत तथा आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार केही राजनीतिक दलले अर्को दलको निर्वाचन चिन्ह प्रयोग गरी समानुपातिक निर्वाचनमा सहभागी हुने भएकाले छुट्टै दल दर्ता नगरेका हुन्।