पुस १, २०८२ ,काठमाडौं
काठमाडौं उपत्यकामा लागूऔषध ओसारपसार तथा बिक्रीवितरणमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य मोतिहारी जिल्ला रक्सौल थाना–४ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–७ बस्दै आएका १९ वर्षीय मुन्ना यादव, मोरङ कानेपोखरी गाउँपालिका–५ घर भई हाल काठमाडौं–१४ कुलेश्वर बस्ने २३ वर्षीय डोरराज परियार र तनहुँ मिर्लुङ गाउँपालिका–३ घर भई हाल काठमाडौं–१४ कुलेश्वर बस्ने ३४ वर्षीय कृष्ण भण्डारी रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार कुलेश्वर क्षेत्रमा लागूऔषध बिक्रीवितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरू भारतको रक्सौल नाका हुँदै काठमाडौंसम्म लागूऔषध ओसारपसार तथा बिक्रीवितरण गर्दै आएको खुलेको प्रहरीले जनाएको छ। यस कार्यको मुख्य योजनाकार भारतीय नागरिक मुन्ना यादव रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी आचार्यले बताए।
पक्राउ परेकाहरूको साथबाट डायजेपाम इन्जेक्सन २ हजार ३९५ थान, प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन २ हजार ३०० थान, बुप्रेनोर्फिन इन्जेक्सन २ हजार १५६ थान, ट्रामाडोल हाइड्रोक्लोराइड (५० मिलिग्राम) क्याप्सुल २ हजार ७०० थान तथा १० थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सोमबार जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको एसपी आचार्यले जानकारी दिए।