सौराहा ।
नेपालले कतारलाई उपहारस्वरूप दिन लागेको दुई हात्ती—खगेन्द्रप्रसाद र रुद्रकली—लाई सोमबार चितवनको सौराहाबाट भव्य कार्यक्रमबीच बिदाइ गरिएको छ। सौराहा स्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरबाट ट्रकमार्फत् ती हात्तीलाई सोमबार बिदाइ गरिएको हो।
चितवन राष्ट्रिय निकुञ्जका अनुसार खोरसोरमै जन्मिएका भाले हात्ती खगेन्द्रप्रसाद (६ वर्ष) र पोथी हात्ती रुद्रकली (७ वर्ष) लाई आगामी पुस २ गते रुपन्देहीको भैरहवा विमानस्थलबाट कार्गोमार्फत् कतार पठाइनेछ। त्यसअघि सौराहामा आयोजित बिदाइ कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रल्लाहद सापकोटा, चितवनका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्याल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तलगायत सहभागी थिए।
कार्यक्रममा बोल्दै मेयर सापकोटाले यी हात्तीले नेपाललाई विश्वसामु चिनाउन मद्दत पुग्ने बताए। ‘हामीसँग जे छ, त्यही दिने हो। पर्यटन र कूटनीतिक सम्बन्धका दृष्टिले यसलाई अन्यथा मान्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘यी हात्तीले नेपाल–कतार सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछन्।’
प्रमुख जिल्ला अधिकारी अर्यालले पनि हात्तीले नेपालको अन्तर्राष्ट्रिय पहिचानमा योगदान पुर्याउने विश्वास व्यक्त गरे। हात्तीसँगै दुई जना माहुते र एक जना पशु चिकित्सकसमेत कतार जानेछन्। उनीहरूले केही समय हात्तीको रेखदेख गरेर फर्किने प्रमुख संरक्षण अधिकृत पन्तले जानकारी दिए। हात्तीलाई कतारको अलखोर चिडियाखानामा राखिनेछ।
विसं २०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा हात्ती उपहार दिने सहमति भए पनि कानुनी तथा प्राविधिक प्रक्रिया पूरा हुन समय लागेका कारण ढिला भएको थियो। हात्ती लोपोन्मुख वन्यजन्तुमा पर्ने भएकाले दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) का सबै प्रक्रिया पूरा गरेर मात्र पठाउन लागिएको निकुञ्जले जनाएको छ।
खगेन्द्रप्रसाद विसं २०७६ माघमा पूर्वी चितवनको खगेन्द्रमली पोस्ट क्षेत्रमा जन्मिएको भाले छावा हो। रुद्रकली भने हात्ती प्रजनन केन्द्रमा पूजाकलीको कोखबाट जन्मिएकी हुन्। तीन महिनाको उमेरमै आमा गुमाएकी रुद्रकलीलाई माहुतेले रेखदेख गरेर हुर्काएका थिए। दुवै हात्तीका पिता जङ्गली भाले हात्ती हुन्।
सूचना अधिकारी अभिनास थापाका अनुसार कतार पठाउन लागिएका दुवै हात्तीको स्वास्थ्य अवस्था राम्रो छ। यसअघि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको विज्ञ टोली कतार पुगेर हात्ती राखिने स्थान र वातावरणको अध्ययन गरेर फर्किएको थियो। अध्ययन टोलीले अलखोर चिडियाखानाको संरचना र वातावरण हात्तीका लागि उपयुक्त रहेको निष्कर्ष निकालेको थियो। कतारबाट आएको प्राविधिक टोलीले पनि हात्तीको आनीबानी, स्वास्थ्य अवस्था तथा तौलसमेतको विवरण संकलन गरिसकेको छ।
निकुञ्जका अनुसार चार महिनाअघि गरिएको मापनमा खगेन्द्रप्रसादको तौल १ हजार १ सय ९० किलो र रुद्रकलीको तौल १ हजार २ सय किलो थियो।
नेपालमा हाल निजी घरपालुवा हात्ती ७२ वटा छन् भने चितवन राष्ट्रिय निकुञ्जमा ५४ वटा हात्ती रहेका छन्। जङ्गली हात्तीको सङ्ख्या करिब ६५ रहेको अनुमान छ। नेपालले वन्यजन्तु संरक्षण सुरु गरेयता विभिन्न देशलाई जनावर उपहार दिए पनि पहिलो पटक हात्ती उपहार दिन लागेको हो।