पुस १, २०८२, काठमाडौँ
नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि सोमबार विभिन्न पदमा उम्मेदवारी दर्ता भएको छ। अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित निर्वाचनमा होमिएका छन्।
भृकुटीमण्डपमा जारी बन्दसत्रमा अध्यक्षदेखि सचिवसम्मका पदमा उम्मेदवारी दर्ता भएको हो। दुई पटक पार्टीको नेतृत्व गरिसकेका ओली यसपटक तेस्रो पटक अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका छन्। उनले आफ्नो टिममा महासचिव शंकर पोखरेललाई निरन्तरता दिएका छन्। यसबाट असन्तुष्ट उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी दर्ता गर्न अस्वीकार गर्दै केन्द्रीय सदस्यका लागि मात्र उम्मेदवारी दिएका छन्।
ओली प्यानलको उपाध्यक्ष पदका उम्मेदवारमा विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल र पृथ्वीसुब्बा गुरुङ रहेका छन्। उपमहासचिवतर्फ रघुवीर महासेठ, लेखराज भट्ट र विष्णु रिमाल छन्।
निर्वाचन आयोगका सदस्य सानुराज पोखरेलका अनुसार ३०१ केन्द्रीय कमिटी पदका लागि कुल ६०३ उम्मेदवारी परेको छ। पदाधिकारीतर्फ अध्यक्ष (१)मा २, उपाध्यक्ष (५)मा ११, महासचिव (१)मा २, उपमहासचिव (३)मा ७ र सचिव (९)मा २० जनाले उम्मेदवारी दिएका छन्।
यसैगरी, मुस्लिम महिला कोटामा खाजिदा खातुन सिद्धिकी र प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे निर्विरोध चयन भएका छन्। अनुशासन आयोगमा अध्यक्ष प्राडा भरतराज पहारी, उपाध्यक्ष चक्रबहादुर पराजुली र सचिव राजेश घिमिरे निर्विरोध चयन भएका छन्। पिछडिएको क्षेत्र महिला कोटाबाट बदमी कुमारी बुढा, लेखा आयोगको अध्यक्ष पुष्पराज कँडेल, उपाध्यक्ष धनेन्द्रराज घिमिरे र सचिव ईश्वरीप्रसाद खरेल निर्विरोध चयन भएका छन्। ४० वर्ष मुनिका केन्द्रीय सदस्यमा नरेश रोकाया र सुशीलकुमार थापा निर्विरोध भएका छन्।
महाधिवेशन निर्वाचन आयोगका अनुसार ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना ‘क्लस्टर’ प्रणालीअनुसार तय गरिएको छ। यसमा ४० वर्ष ननाघेका युवाका लागि ५ प्रतिशत अर्थात् १५ सदस्यको कोटा राखिएको छ। केन्द्रीय कमिटीमा पदाधिकारी १९ जना हुनेछन्, जसमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९ रहेका छन्।
प्रदेश प्रतिनिधित्व अनुसार ८ प्रदेशबाट प्रत्येक ९ जना केन्द्रीय सदस्य रहनेछन्। यसमा खुला ५, महिला ३ र युवा १ जना समावेश छन्। जनजाति/आदिवासी २५, मधेशी १९, प्रवास २, श्रमिक ३, अपांगता भएका व्यक्ति १, दलित १२, थारू ८, मुस्लिम ५ र पिछडिएको क्षेत्र २ जनाको प्रतिनिधित्व रहने व्यवस्था गरिएको छ।
महाधिवेशनपछि १९ केन्द्रीय पदाधिकारी, ३३ स्थायी कमिटी र ९९ पोलिटब्युरो सदस्यले पार्टीको नेतृत्व संरचना पूरा गर्नेछन्।