काठमाडौं ।
सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल (एपीएफ) ले चालु आर्थिक वर्ष २०८२/०८३ मा भारतसँग जोडिएका ५५ वटा सीमास्तम्भ मर्मत गरेको छ । सशस्त्र प्रहरी बलको मुख्यालयका अनुसार मर्मत गरिएका सीमास्तम्भमध्ये १३ वटा मुख्य, ३९ वटा सहायक र तीन वटा साना स्तम्भ रहेका छन् ।
सशस्त्र प्रहरी बलले हरेक आर्थिक वर्षमा सीमास्तम्भ मर्मत तथा नयाँ स्तम्भ स्थापना गर्दै आएको छ । चालु आर्थिक वर्षमा भारतले आफ्नो पक्षतर्फ ५४७ वटा सीमास्तम्भ मर्मत गरेको छ । अघिल्लो आर्थिक वर्षमा भारतले कुनै पनि सीमास्तम्भ मर्मत नगर्दा नेपालतर्फ सशस्त्र प्रहरीले ४९८ वटा स्तम्भ मर्मत गरेको थियो । यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा मात्रै नेपालतर्फ दुई हजार १३७ वटा सीमास्तम्भ मर्मत गरिएको सशस्त्रको तथ्यांकले देखाएको छ ।
यता, चालु आर्थिक वर्षको पाँच महिनामै भारतले पूर्वदेखि पश्चिमसम्म नेपालसँग जोडिएका अधिकांश सीमास्तम्भ मर्मत गरिसकेको छ । यससँगै सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा हुने तस्करी, अवैध ओसारपसार तथा आपराधिक गतिविधि नियन्त्रणका लागि विभिन्न विधि र प्रक्रियामार्फत नियमित सुरक्षा गस्ती गर्दै आएको छ ।
सीमा सुरक्षालाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीले सीमा सहजीकरण समिति र सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणापत्र नै जारी गरी काम गर्दै आएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी मनिष थापाका अनुसार सीमा क्षेत्रमा १० वटा विधिमार्फत गस्ती सञ्चालन भइरहेको छ ।
ती विधिअन्तर्गत स्वास्थ्य शिविर सञ्चालन, सीपमूलक तालिम, निर्माणकार्य, सीमा जोडिएका वडाध्यक्षहरूसँग अन्तर्क्रिया, वृक्षारोपण, भाषा प्रशिक्षण, सामग्री वितरण, जनचेतनामूलक कार्यक्रम तथा सीमा सहजीकरण समितिको बैठकजस्ता कार्यक्रम समेटिएका छन् ।
यस्ता कार्यक्रम सातवटै प्रदेशमा रहेका सशस्त्र प्रहरी बलका बाहिनीहरूले सञ्चालन गर्दै आएका छन् । सशस्त्रका अनुसार आर्थिक वर्ष २०८० यता हालसम्म सातवटै बाहिनीले चार हजार ९६१ वटा विविध कार्यक्रममार्फत सीमा गस्ती तथा समुदायसँग समन्वय गरेका छन् ।
सीमा समन्वयात्मक बैठक र गस्ती
सीमा क्षेत्रमा देखिने त्रिदेशीय समस्या समाधान गर्न सशस्त्र प्रहरीले समय–समयमा भारत र चीनका सुरक्षा निकायसँग समन्वयात्मक बैठक गर्दै आएको छ । तथ्यांकअनुसार पछिल्ला तीन आर्थिक वर्षमा सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल (बीएसएफ) बीच एक हजार ५३३ वटा बैठक सम्पन्न भएका छन् । चालु आर्थिक वर्षमा मात्रै २२५ वटा सीमा व्यवस्थापनसम्बन्धी बैठक गरिएको छ ।
यस अवधिमा सशस्त्र प्रहरी बलका प्रमुख र भारतीय सीमा सुरक्षा बलका प्रमुखबीच तीन पटक उच्चस्तरीय छलफलसमेत भएको छ । भारतसँगै सशस्त्र प्रहरी बलले चिनियाँ पक्षसँग पनि नियमित समन्वय गर्दै आएको छ । पछिल्ला तीन वर्षमा चिनियाँ पक्षसँग ५० पटक र चालु आर्थिक वर्षमा चार पटक सीमा समन्वयात्मक बैठक बसेको छ ।
सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बलले पछिल्ला तीन आर्थिक वर्षमा ७६ हजार १९१ पटक एकल गस्ती तथा भारतीय सीमा सुरक्षा बलसँग संयुक्त रूपमा १५ हजार ४८१ पटक गस्ती गरेको जनाएको छ ।
राजस्व संकलन र बरामद
सीमा सुरक्षासँगै खुला सीमामार्फत हुने चोरी तस्करी नियन्त्रणमा उल्लेख्य सुधार आएको सशस्त्र प्रहरी बलको दाबी छ । सशस्त्र प्रहरी बलले सुरक्षा जाँचका क्रममा पछिल्ला तीन आर्थिक वर्षमा चोरी पैठारी तथा निकासी नियन्त्रण गर्दै साढे चार अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको जनाएको छ ।
चालु आर्थिक वर्षमा मात्रै मंसिरसम्म ९२ करोड १५ लाख रुपैयाँ बराबरको सामग्री बरामद गरिएको छ । राजस्वसँग सम्बन्धित सामग्रीबाहेक सशस्त्र प्रहरी बलले सीमा क्षेत्रबाट नेपाल भित्रिन लागेका ४७ थान हतियारसमेत बरामद गरेको छ ।
यसका साथै लागुऔषधसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार हाल सशस्त्र प्रहरी बलका भारततर्फ २४९ वटा आउट बोर्डर पोस्ट (बीओपी) र उत्तरी सीमा चीनतर्फ ११ वटा पोस्ट सञ्चालनमा छन् ।