सिड्नी ।
अस्ट्रेलियाको बोन्डाइ बीचमा भएको घातक गोलीकाण्ड इस्लामिक स्टेट (आईएस) को विचारधाराबाट प्रेरित भएको प्रधानमन्त्री एन्थनी अल्बनीजीले बताएका छन् । यसअघि बन्दुकधारीहरूले इस्लामिक स्टेट समूहप्रति निष्ठा जनाएको विवरण सार्वजनिक भएको थियो ।
यहुदी चाड हानकामा सहभागीहरूलाई लक्षित गरी दुई बन्दुकधारीले गरेको आक्रमणमा १५ जनाको ज्यान गएको छ । घटनामा घाइते भएका २४ जना सिड्नीका विभिन्न अस्पतालमा उपचाररत छन् । न्यू साउथ वेल्स हेल्थका अनुसार तीन जनाको अवस्था अझै गम्भीर छ भने पाँच जनाको अवस्था गम्भीर तर स्थिर रहेको छ । बाँकी घाइतेहरूको अवस्था स्थिर रहेको जनाइएको छ ।
पीडितमध्ये १० वर्षीया एक बालिका, ब्रिटिश मूलका एक रब्बी, सेवानिवृत्त प्रहरी अधिकारी तथा होलोकोस्टबाट बाँचेकाहरू पनि छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार आक्रमणकारीहरू ५० वर्षीय साजिद अक्रम र उनका २४ वर्षीय छोरा नावेद अक्रम हुन् । घटनास्थलमै साजिद अक्रमको मृत्यु भएको थियो भने उनका छोरा अस्पतालमा उपचाररत छन् ।
बन्दुक खोस्ने ‘नायक’लाई प्रधानमन्त्रीको प्रशंसा
घटनाका क्रममा बन्दुकधारीबाट हतियार खोसेर ठूलो क्षति हुन नदिएका ४३ वर्षीय अहमद अल अहमदलाई प्रधानमन्त्री अल्बनीजीले अस्पतालमै भेट गरी “देशको उत्तम प्रतिनिधित्व गर्ने सच्चा अस्ट्रेलियाली नायक”को संज्ञा दिएका छन् ।
प्रधानमन्त्रीले भने, “उनी अत्यन्त विनम्र व्यक्ति हुन् । कफी लिन गएका बेला अचानक उनले आफ्नै अगाडि मानिसहरूलाई गोली हानिएको देखे । उनले तुरुन्तै कारबाही गर्ने निर्णय गरे र उनको बहादुरी सबै अस्ट्रेलियालीका लागि प्रेरणादायी छ ।”
प्रधानमन्त्रीका अनुसार अहमद अल अहमदको थप शल्यक्रिया हुने तयारी छ । उनका आमा–बुबा सिरियाबाट छोरालाई भेट्न आएका छन् । “हामीले राक्षसीपन देखेका बेला उनी मानवताको शक्तिको उदाहरण बनेर चम्किएका छन्,” अल्बनीजीले भने ।
बीबीसीले पुष्टि गरेको भिडिओमा अहमद अल अहमद दौडेर बन्दुकधारीतर्फ गई हतियार खोसेको र त्यसपछि बन्दुक तेस्र्याएर आक्रमणकारीलाई पछि हट्न बाध्य पारेको देखिन्छ । उनलाई धेरै पटक गोली लागेको थियो र त्यसपछि शल्यक्रिया गरिएको छ ।
प्रहरी पनि घाइते
घटनामा दुई जना प्रहरी अधिकारीसमेत घाइते भएका छन् । प्रहरीका अनुसार कन्स्टेबल स्कट डायसन गम्भीर तर स्थिर अवस्थामा अस्पतालमा छन् । नाम नखुलाइएको अर्का प्रहरी अधिकारी पनि गम्भीर तर स्थिर अवस्थामा उपचाररत छन् ।
घाइते प्रहरीका परिवारले घटनामा ज्यान गुमाएका र घाइते भएकाहरूका परिवारप्रति समवेदना व्यक्त गर्दै घटनास्थलमा खटिएका प्रहरी र प्यारामेडिक्सप्रति आभार प्रकट गरेका छन् । साथै, आफ्ना प्रियजनको स्वास्थ्यलाभमा ध्यान केन्द्रित गर्न गोपनीयताको आग्रहसमेत गरेका छन् ।
न्यू साउथ वेल्स प्रिमिअरको प्रतिक्रिया
न्यू साउथ वेल्सका प्रिमिअर क्रिस मिन्सले यो त्रासदीपूर्ण घटनाले समुदायलाई एकताबद्ध गरेको बताएका छन् । यहूदीविरोधी भावनासँग लड्नु आफ्नो सरकारको पहिलो प्राथमिकता भएको उनले स्पष्ट पारे ।
उनले अस्ट्रेलियामा बन्दुकसम्बन्धी कानुनलाई अझ कडा बनाइने र न्यू साउथ वेल्समा ती कानुनहरूलाई उल्लेखनीय रूपमा कडाइका साथ लागू गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।