काठमाडौँ ।
नेकपा (एमाले) नेतृ रामकुमारी झाँक्रीले जेन–जी आन्दोलनलाई गर्लफ्रेन्ड र ब्वाइफ्रेन्डबीचको झगडासँग तुलना गर्दै अवमूल्यन गरेकी छिन्। आइतबार एक युट्युब च्यानलसँगको अन्तर्वार्तामा उनले युवाहरूले उठाएको आन्दोलनलाई हल्का रूपमा प्रस्तुत गरेकी हुन्।
अन्तर्वार्ताका क्रममा युट्युबरले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका बेला भ्रष्टाचारको विरोध र सुशासनको माग गर्दै युवाहरूले जेन–जी आन्दोलन उठाएको प्रसङ्ग उल्लेख गरेका थिए। त्यसको जवाफमा झाँक्रीले उक्त आन्दोलनलाई एक जना सोसल मिडिया इन्फ्लुएन्सरको व्यक्तिगत असन्तुष्टिसँग जोड्दै टिप्पणी गरिन्।
उनले भनिन्, “यो एउटा सोसल मिडिया इन्फ्लुएन्सरले आफ्नो भूतपूर्व गर्लफ्रेन्डलाई डिफेम गर्नका लागि बनाइएका कन्टेन्टका पछाडि लाग्ने गलत युवाहरूको आन्दोलन हो। गर्लफ्रेन्ड र ब्वाइफ्रेन्डको इस्यु ल्याएर देश जलाउने ? कसैको घर जलाउने ?”
युट्युबरले “मलाई भन्नुभएको हो ?” भनी प्रतिप्रश्न गरेपछि झाँक्रीले थपिन्, “तपाईं पनि त्यस्तै हो। कुनै एक जना सेलिब्रेटी गर्लफ्रेन्ड नपाएको झोकमा अर्को सेलिब्रेटी सोसल मिडिया इन्फ्लुएन्सरले आगो लगाएको होइन ? अनि त्यसैको प्रचार गर्ने मान्छे होइनन् जेन्–जीहरू ?”
उनले केपी शर्मा ओलीविरुद्ध भएको विरोध पनि त्यही स्तरको रहेको जिकिर गरिन्। झाँक्रीले युवाहरूको आन्दोलनलाई रोजगारी र श्रमसँग जोड्दै आलोचना गर्दै भनिन्, “रोजगारी सिर्जना गर्ने कुरा गर्ने तर कोही रोजगारीको बजारमा गएको देखिँदैन। भाटभटेनी लुट्न जाने, काम नगर्ने र ठगी गर्नेहरू देखिए।”
झाँक्रीको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा तीव्र आलोचना सुरु भएको छ। धेरैले भ्रष्टाचार र सुशासनजस्ता गम्भीर मुद्दामा उठेको युवा आवाजलाई व्यक्तिगत सम्बन्धसँग तुलना गर्नु आपत्तिजनक भएको प्रतिक्रिया दिएका छन्।