इलाम ।
रेड पाण्डा म्याराथनमा नेपाली सेनाका गजिन्द्र राई प्रथम भएका छन्। उनले ४४ दशमलव ३ किलोमिटर दूरी ४ घण्टा १२ मिनेटमा पूरा गर्दै ३ हजार ६ सय १० मिटर उचाइमा रहेको सन्दकपुर सब्मिटमा गन्तव्य पूरा गरेका हुन्।
१ हजार २ सय २० मिटर उचाइको इलाम बजारबाट सुरु भएको म्याराथनमा यसपटक पनि नेपाली सेनाको वर्चस्व देखिएको छ। ४ घण्टा १३ मिनेटमा निर्धारित दूरी पार गर्दै नेपाली सेनाकै करण रावल दोस्रो भए भने ४ घण्टा २९ मिनेटमा सेनाकै कर्णबहादुर रोक्का मगर तृतीय स्थानमा रहे।
पुरुषतर्फ प्रथम हुने गजिन्द्र राईले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाए।
महिलातर्फ खोटाङकी निर्मला राई प्रथम भइन्। उनले ५ घण्टा ४० मिनेटमा दूरी पूरा गरिन्। महिलातर्फ नेपाली सेनाकी सुनसरी रोकाय दोस्रो र कल्पना बुढा तेस्रो भइन्। महिलातर्फ पनि प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
स्थानीयतर्फ (पाँचथर, इलाम र ताप्लेजुङ) राजन मेन्याङ्बो प्रथम भए। विशाल राई दोस्रो, राजेन्द्र लिम्बू तेस्रो भए भने रमेश लिम्बूले सान्तवना स्थान प्राप्त गरे। स्थानीयतर्फ प्रथमले २५ हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।
प्रतियोगिता दीप ज्योति क्लबको आयोजनामा रेड पाण्डा नेटवर्क र प्ले फर नेचरको सहयोगमा सम्पन्न भएको हो।