काठमाडौँ
एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका क्रममा गरेको प्रतिबद्धताअनुसार देशभरका सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई २ हजार ४ सय २८ थान शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ।
एनसेलले ‘प्रत्येक चौकामा चार शैक्षिक सामग्री’ वितरण गर्ने सामाजिक पहललाई निरन्तरता दिँदै एनपीएल दोस्रो संस्करणमा पनि हरेक चौकाको प्रहारसँगै शैक्षिक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो। क्रिकेटको उत्साहलाई शिक्षा सहयोगसँग जोड्ने उद्देश्यले सुरु गरिएको यो पहलले खेल मैदानमा प्रहार भएका चौकालाई विद्यार्थीको पठन–पाठनसँग जोड्दै आएको एनसेलले जनाएको छ।
यस वर्षको एनपीएलमा ९९ खेलाडीले कुल ६ सय ७ चौका प्रहार गरेका थिए, जसका आधारमा २ हजार ४ सय २८ वटा शैक्षिक सामग्री वितरण सुनिश्चित भएको हो। पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले सबैभन्दा धेरै ३१ चौका प्रहार गर्दै १ सय २४ शैक्षिक सामग्री वितरण सुनिश्चित गरेका छन्। त्यस्तै, लुम्बिनी लायन्सका डार्सी सर्टले २६ चौकासहित १ सय ४ तथा सुदूरपश्चिम रोयल्सका बिनोद भण्डारीले २३ चौकासहित ९२ शैक्षिक सामग्री वितरण सुनिश्चित गरेका छन्।
एनसेलका अनुसार वितरण गरिने प्रत्येक शैक्षिक किटमा स्कुल ब्याग, कापी, पेन्सिल, शार्पनर, इरेजरलगायत आवश्यक स्टेसनरी सामग्री समावेश हुनेछ। यस पहलको उद्देश्य शैक्षिक सामग्रीको अभाव झेलिरहेका विद्यार्थीलाई आवश्यक स्रोत उपलब्ध गराई सिकाइ प्रक्रियामा सहयोग पुर्याउनु रहेको जनाइएको छ।
एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक बिषाखा लक्ष्मी खड्काले खेलाडीहरूको योगदानप्रति आभार व्यक्त गर्दै भनिन्, “खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले टिमलाई मात्र नभई विद्यार्थीहरूको पठन–पाठनलाई पनि सहयोग पुगेको छ। गत वर्षझैँ यस वर्ष पनि सबैभन्दा बढी आवश्यकता भएका सरकारी विद्यालयका विद्यार्थीलाई लक्षित गरी शैक्षिक सामग्री वितरण गरिनेछ।”
यस वर्ष पनि एनसेल एनपीएलको ‘पावर्ड बाइ’ साझेदार रहेको थियो। प्रतियोगिताका प्रत्येक खेलमा सबैभन्दा बढी चौका प्रहार गर्ने खेलाडीलाई एनसेलले २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको थियो। साथै, दोस्रो संस्करणमा सबैभन्दा धेरै चौका प्रहार गर्ने पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।