काठमाडौँ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण नेपाली राष्ट्रिय टोलीका खेलाडीका लागि मिश्रित रह्यो । रोहित कुमार पौडेल र सन्दीप लामिछानेजस्ता केही खेलाडी उत्कृष्ट देखिँदा धेरैजसो स्थापित खेलाडी भने अपेक्षित लयमा देखिन सकेनन् ।
लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेल ले २७६ रन बनाउँदै लगातार दोस्रो सिजन पनि सर्वाधिक रन बनाउने नेपाली खेलाडी बने । ब्याटिङसँगै बलिङमा १० विकेट लिएका रोहित प्रतियोगिताकै प्लेयर अफ द सिरिज घोषित भए । फाइनलमा ह्याट्रिक विकेट लिँदै उनले लुम्बिनीलाई उपाधि जिताउन निर्णायक भूमिका खेले ।
दीपेन्द्र सिंह ऐरी ले अघिल्लो सिजनको निरन्तरता कायम राख्दै ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा प्रभाव जमाए । ९ खेलमा १६२ रन, ९ विकेट, ११ क्याच र २ डाइरेक्ट हिट रनआउटसहित उनी सबैभन्दा प्रभावशाली अलराउन्डरमध्ये एक बने ।
बलिङतर्फ सन्दीप लामिछाने ले उत्कृष्ट पुनरागमन गरे । विराटनगर किंग्सलाई पहिलो पटक प्लेअफ पुर्याउँदै उनले ९ खेलमा १७ विकेट लिएर प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडी बने । इकोनोमीका आधारमा उनी शीर्ष स्थानमा रहे ।
तर ओपनर कुशल भुर्तेल को प्रदर्शन फेरि पनि चिन्ताजनक रह्यो । ७ खेलमा २ अर्धशतकसहित १५६ रन बनाए पनि निरन्तरता देखिन सकेन । आसिफ शेख, कुशल मल्ल र सन्दीप जोरा जस्ता ब्याटरहरू पनि अपेक्षाअनुसार चल्न सकेनन् ।
मध्यक्रममा आरिफ शेख ले सुदूरपश्चिम रोयल्सलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण योगदान दिए । उनले ९ खेलमा १८६ रन बनाएर नेपाली ब्याटरमध्ये शीर्ष तीनमा स्थान बनाए । तल्लो क्रममा बसिर अहमद ले ९ खेलमा १९१ रन बनाएर सकारात्मक प्रभाव छोडे ।
बलिङमा भने मिश्रित नतिजा देखियो । करण केसी (१३ विकेट) र शाहब आलम (१३ विकेट) ले टोलीका लागि महत्वपूर्ण योगदान दिए । शाहबले एक खेलमा ६ विकेटसहित ह्याट्रिक गरेर एनपीएलमा कीर्तिमानसमेत बनाए । तर अघिल्लो सिजन चम्किएका ललित राजवंशी र अनुभवी सोमपाल कामी को प्रदर्शन फिका रह्यो ।
गुल्सन झा ले कर्णाली याक्सको कमजोर नतिजाबीच पनि फिनिसरको भूमिकामा सन्तोषजनक प्रदर्शन गरे । युवा बलर नन्दन यादव ले १० विकेट लिए पनि टोलीको नतिजामा खासै प्रभाव पार्न सकेनन् ।
सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकप नजिकिँदै गर्दा एनपीएलमा देखिएको औसत प्रदर्शन नेपाली क्रिकेटका लागि चिन्ताको विषय बनेको छ । केही चम्किला व्यक्तिगत प्रदर्शनबाहेक राष्ट्रिय टोलीका धेरै नियमित खेलाडीले अझै लय खोज्नुपर्ने संकेत यो सिजनले दिएको छ ।