काठमाडौँ
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा यसपटक कसैको पनि पद सुरक्षित नरहेको भन्दै पार्टीका नेताहरूले फरक नतिजा आउने संकेत गरेका छन्।
मंगलबार अन्तिम समयमा मतदान स्थगित भएपछि प्रतिक्रिया दिँदै नेताहरूले यो महाधिवेशन अघिल्ला महाधिवेशनभन्दा भिन्न हुने बताएका हुन्। अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल समूहका सचिव पदका उम्मेदवार कर्ण थापाले यसपटकको निर्वाचन अप्रत्याशित हुने दाबी गरे।
‘कसैको पनि पद सुरक्षित छैन। अरु महाधिवेशनभन्दा यो पटक छुट्टै नतिजा आउँछ,’ थापाले भने, ‘यो निर्वाचन सबैका लागि आश्चर्यचकित लाग्दो हुन सक्छ।’
यता, अध्यक्षका अर्का उम्मेदवार केपी शर्मा ओली समूहकी नेतृ पद्मा अर्यालले महाधिवेशन प्रतिनिधिहरूले पार्टी एकताका पक्षमा विवेकपूर्ण निर्णय गर्ने विश्वास व्यक्त गरिन्।
‘प्रतिनिधिहरूले विवेक प्रयोग गरेर मतदान गर्नुहुन्छ। अहिलेको अवस्थामा नेतृत्वको विकल्प छैन,’ उनले भनिन्, ‘मूल नेतृत्वको पक्षमै महाधिवेशनले निर्णय गर्ने विश्वास छ। यसले पार्टीलाई थप एकताबद्ध बनाएर अगाडि बढ्न सहयोग गर्छ।’
मतदान प्रक्रिया स्थगित भएसँगै एमालेभित्र आन्तरिक प्रतिस्पर्धा, शक्ति सन्तुलन र सम्भावित नतिजाबारे चासो बढ्दै गएको छ। नेताहरूका पछिल्ला अभिव्यक्तिले यसपटकको महाधिवेशनले पार्टी राजनीतिमा नयाँ सन्देश दिने संकेत गरेको छ।