काठमाडौँ ।
दक्षिण–पूर्वी एसियाली छिमेकी राष्ट्र थाइल्याण्ड र कम्बोडियाबीच जारी सीमा झडपपछि युद्धविरामको विषय अझै अन्योलमा परेको छ । थाइल्याण्डले एक हप्ताभन्दा बढी समयदेखि जारी घातक झडप रोक्न कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नुपर्ने अडान लिएको छ ।
थाई विदेश मन्त्रालयकी प्रवक्ता माराती नालिता अन्डामोले बैंककमा आयोजित पत्रकार सम्मेलनमा थाई भूमिमा आक्रमणको सुरुआत कम्बोडियाबाट भएकाले उसैले पहिला युद्धविरामको घोषणा गर्नुपर्ने बताइन् । साथै, सीमामा बारुदी सुरुङ (माइन) हटाउने प्रक्रियामा पनि कम्बोडियाले ‘इमानदारीपूर्वक’ सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
यस महिना सुरु भएको लडाइँमा सैनिक र सर्वसाधारण गरी कम्तीमा ३२ जनाको मृत्यु भइसकेको छ भने करिब आठ लाख मानिस विस्थापित भएको सम्बन्धित अधिकारीहरूले जनाएका छन् । दुवै पक्षले आत्म–रक्षाका नाममा कदम चालेको दाबी गर्दै नागरिकमाथि आक्रमण गरेको आरोप एक–अर्कामाथि लगाएका छन् ।
कम्बोडियाले भने थाइल्याण्डको पछिल्लो बयानमा हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन । यसैबीच, यस वर्षको सुरुतिर सीमा विवादमा चासो देखाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता दुवै देश शनिबारदेखि युद्धविराम गर्न सहमत भएको दाबी गरेका थिए ।
कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले वासिङ्टनको सहभागितामा आसियान क्षेत्रीय अध्यक्ष राष्ट्र मलेसियाले अघि सारेको युद्धविराम पहललाई आफ्नो देशले समर्थन गरेको बताएका छन् । तर, बैंककले ट्रम्पको युद्धविराम सम्बन्धी दाबी अस्वीकार गर्दै ७ डिसेम्बरदेखि दैनिक रूपमा पुनः लडाइँ जारी रहेको जनाएको छ ।
यसले क्षेत्रीय स्थायित्वमाथि थप चुनौती थपिएको विश्लेषकहरूले बताएका छन् ।