ललितपुर, पुस २ गते
नेपाली कांग्रेसले क्रमसङ्ख्या राखेर नयाँ क्रियाशील सदस्यता वितरण फाराम पठाउने निर्णय गरेको छ। कांग्रेस महामन्त्री तथा क्रियाशील सदस्य व्यवस्थापन समितिका संयोजक गगनकुमार थापाको अध्यक्षतामा मङ्गलबार केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले सो निर्णय गरेको हो।
कांग्रेस केन्द्रीय सदस्य तथा समितिका सदस्य प्रकाश स्नेही रसाइलीका अनुसार नयाँ क्रियाशील सदस्यताको फाराम छपाइ सकिएकाले बुधबारदेखि ७७ वटै जिल्लामा पठाइने छ। उहाँले झन्डै चार लाख क्रियाशील सदस्यता फाराम जिल्लामा पठाउने तयारी भएको जानकारी दिनुभयो।
रसाइलीका अनुसार भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनभन्दा अघि करिब २५ प्रतिशत क्रियाशील सदस्यताको फाराम जिल्लामा पुगिसकेको थियो। तर क्रमसङ्ख्या नभएकाले ती फाराम फिर्ता गराई क्रमसङ्ख्यासहितका नयाँ फाराम पठाउने निर्णय गरिएको उहाँले बताउनुभयो।
उहाँले फाराम भरेर आएका क्रियाशील सदस्यको तथ्याङ्क प्रविष्टि (डाटा इन्ट्री)को काम तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो। नेपाली जनसम्पर्क समिति गठन भएका ३७ वटा देशमा पनि सदस्यता वितरण तथा तथ्याङ्क प्रविष्टिको काम सम्पन्न भइसकेको उहाँको भनाइ छ। “क्रियाशील सदस्यताको विषय केही दिनमै टुङ्गो लाग्ने छ,” उहाँले भन्नुभयो, “कामलाई द्रुत रूपमा अघि बढाइएको छ।”
यसैबीच, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच मङ्गलबार भेटवार्ता भएको छ। भेटमा डा. कोइरालाले क्रमसङ्ख्याबिनै फाराम पठाइएको विषय र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवासहित समसामयिक विषयमा सभापति देउवाको ध्यानाकर्षण गराउनुभएको थियो।
डा. कोइरालाले पार्टीका नेता–कार्यकर्तामाथि गरिएको कारबाही फुकुवा गरी महाधिवेशन तथा निर्वाचनका तयारीमा सक्रियताका साथ खटिन निर्देशन दिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ।