काठमाडौँ ।
बर्दिया र कैलाली जोड्ने कर्णाली नदीमा निर्माण हुने दौलतपुरघाट मल्टिस्पान झोलुङ्गे पुलको शिलान्यास गरिएको छ। ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले बुधबार पुलको शिलान्यास गरेका हुन्।
बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुर र कैलालीको टीकापुर नगरपालिका–५ टीकापुर पार्कलाई जोड्ने उक्त पुल सहरी विकास मन्त्रालय मातहतको स्थानीय पूर्वाधार विकास विभागअन्तर्गत सस्पेन्स ब्रिज डिभिजनमार्फत निर्माण हुनेछ। पुलको लम्बाइ ४८२.२० मिटर र चौडाइ १.६० मिटर रहने छ।
पुल निर्माणपछि दौलतपुर र टीकापुर क्षेत्रका करिब दुई हजार घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। पुलको मध्यभागमा फोटो खिच्न मिल्ने संरचना समेत निर्माण गरिने जनाइएको छ।
हाल दौलतपुरघाटमा पुल नहुँदा स्थानीयवासीले डुंगामार्फत जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। वर्षायाममा डुंगा चलाउन नसकिने हुँदा आवतजावत नै बन्द हुने अवस्था रहँदै आएको छ। झोलुङ्गे पुल निर्माणपछि बाह्रै महिना सहज रूपमा कर्णाली नदी वारपार गर्न सकिनेछ।
शिलान्यास समारोहमा मन्त्री घिसिङले पुल निर्माणले राजापुर र टीकापुर क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सहयोग पुग्ने बताए। उनले दौलतपुर क्षेत्रका बासिन्दालाई टीकापुर बजारमा रहेका क्याम्पस, अस्पताल लगायतका सेवासुविधामा सहज पहुँच हुने तथा कृषि उत्पादनको ढुवानी सहज हुने उल्लेख गरे। साथै, सो क्षेत्रमा भइरहेको नदी कटान नियन्त्रणका लागि सरकार गम्भीर रहेको पनि बताए।
मन्त्री घिसिङले तोकिएकै समयसीमाभित्र पुल निर्माण सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। ठेक्का सम्झौताअनुसार पुल आगामी २०८४ साल असार ११ गतेभित्र निर्माण सम्पन्न गरिनेछ।
सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले झोलुङ्गे पुल निर्माणले दौलतपुर क्षेत्रको आर्थिक, सामाजिक तथा शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
पुल निर्माणका लागि १५ करोड ७४ लाख रुपैयाँ (भ्याटसहित) मा ठेक्का सम्झौता भएको छ।