पाँचथर ।
फिदिम नगरपालिका–३ लालीखर्कमा निर्माण गरिएको ‘ताया रुङरि खिम’ किराँत राई समुदायको धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने महत्वपूर्ण स्थलका रूपमा स्थापित हुँदै गएको छ। किराँत राई समुदायका परम्परागत संस्कार, संस्कृति र जीवनशैली झल्काउने संरचना, मूर्ति तथा वनस्पतिसहितको यो स्थान पछिल्ला दिनमा आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिएको हो।
उद्यानमा किराँत राई समुदायका धार्मिक आस्थासँग जोडिएको सुप्तुलुङ चुला, संस्कारसँग सम्बन्धित सामग्री, परम्परागत प्रतीक तथा विभिन्न वनस्पतिहरू राखिएका छन्। नेपाल एकीकरणअघि माझ किराँत क्षेत्रमा बसोबास गर्दै आएका किराँत राई समुदाय पूर्वतर्फ सर्दै जाँदा आफ्नो भाषा, संस्कार र संस्कृति क्रमशः बिर्सँदै गएको सन्दर्भमा पहिचान जोगाउने उद्देश्यले पाँचथरको लालीखर्कमा यो संरचना निर्माण गरिएको हो।
ताया रुङरि खिमका अध्यक्ष भक्तबहादुर राईका अनुसार राई वान्तवा भाषामा ‘ताया’ को अर्थ ज्ञान वा बुद्धि, ‘रुङरि’ को अर्थ शक्ति र ‘खिम’ को अर्थ घर भन्ने हुन्छ। “ज्ञान र शक्ति प्रदान गर्ने घर भन्ने भावनासहित यो उद्यान निर्माण गरिएको हो,” उनले भने।
उनका अनुसार माझ किराँत क्षेत्रका भोजपुर, खोटाङलगायत जिल्लाबाट बसाइँ सरी राई समुदाय पाँचथर आइपुगेको इतिहास छ। “माझ किराँतबाट जति पूर्वतर्फ सर्दै गयो, भाषा, संस्कार र संस्कृति उति नै बिर्सिँदै गएको पाइयो,” अध्यक्ष राईले भने, “त्यसैले यस उद्यानमार्फत समुदायको पहिचान झल्काउने र नयाँ पुस्तालाई आफ्नो संस्कृति, परम्पराबारे जानकारी दिने प्रयास गरेका हौँ।”
उनले पछिल्ला पुस्तासम्म आइपुग्दा भाषा, संस्कार र संस्कृतिका धेरै पक्ष लोप हुँदै गएको उल्लेख गर्दै अबको पुस्ताले आफ्नो पहिचान भन्न नसक्ने अवस्था नआओस् भन्ने उद्देश्यले पार्क निर्माण गरिएको बताए।
मेची राजमार्गअन्तर्गत फिदिम नगरपालिका–३ लालीखर्कको सुम्नीमा चोकभन्दा केहीमाथि करिब १० रोपनी क्षेत्रफलमा उद्यान निर्माण गरिएको छ। लालीखर्कमा राई समुदायको बाक्लो बस्ती रहेको छ भने यसको आसपास फिदिम नगरपालिकाका वडा नम्बर १, २, ५, ६ र ७ मा पनि राई समुदायको बसोबास छ। यी सबै क्षेत्रको केन्द्रमा पर्ने भएकाले सबैलाई पायक पर्ने स्थानमा उद्यान निर्माण गरिएको अध्यक्ष राईले जानकारी दिए।
उद्यानभित्र प्रकृति र संस्कृति झल्काउने संरचना, परम्परागत खेलकुदसँग सम्बन्धित सामग्री, बाल उद्यान तथा सांस्कृतिक सामग्री गरी चार प्रकारका क्षेत्र विकास गरिएको छ। ‘खामलिखाला खिम’ नाम दिइएको प्राकृतिक पार्कमा राई समुदायको जन्मदेखि मृत्युसम्मका संस्कारमा प्रयोग हुने विभिन्न वनस्पतिहरू रोपिएका छन्। ती वनस्पतिहरूको नाम र प्रयोगसम्बन्धी विवरणसमेत स्पष्ट रूपमा राखिएको छ।
स्थानीय तह, समुदाय र संस्कृतिप्रेमीहरूको पहलमा निर्माण गरिएको यस उद्यानले किराँत राई समुदायको पहिचान संरक्षणसँगै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।