काठमाडौँ ।
नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा अनियमितता भएको ठहर गर्दै पूर्वसचिव अर्जुनबहादुर कार्कीसहित तीन जना व्यक्ति र एक कम्पनीविरुद्ध ठगी मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले बुधबार जिल्ला अदालत काठमाडौँमा पाँच अर्ब २५ करोड ६३ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो ।
मुद्दामा तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की, थामसेर्कु ट्रेकिङ प्रालिका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा तथा थामसेर्कु ट्रेकिङ प्रालिलाई प्रतिवादी बनाइएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानअनुसार प्रतिवादीहरूले नेपाल ट्रस्टको दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गा लिज प्रक्रियामा गम्भीर अनियमितता गरेका थिए । प्रारम्भमा नेपाल ट्रस्टलाई ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९९४ रुपैयाँ ३१ पैसा दिने प्रस्ताव स्वीकार गर्न सिफारिस गरिएको भए पनि अन्ततः १ अर्ब ५९ करोड ४० लाख ५२ हजार २०४ रुपैयाँ ६० पैसामै सम्झौता गरिएको खुलेको छ ।
अनुसन्धानका क्रममा २०७४ जेठ १४ गते भाडाबापत १ अर्ब ४० करोड १० लाख ८६ हजार ७७ रुपैयाँ र निर्माण खर्चबापत १९ करोड २९ लाख ६५ हजार ९२७ रुपैयाँ ६० पैसा गरी कुल १ अर्ब ५९ करोड ४० लाख ५२ हजार २०४ रुपैयाँ ६० पैसामा सम्झौता गरिएको पाइएको छ । उक्त सम्झौता प्रचलित नियम र कानुनविपरीत रहेको तथा नेपाल ट्रस्टलाई ठूलो आर्थिक क्षति पुर्याइएको सीआईबीको निष्कर्ष छ ।
उक्त जग्गा काठमाडौँ महानगरपालिका–१, दरबारमार्गस्थित कित्ता नं. ४६०६ मा पर्ने १–१४–०–३–५६ क्षेत्रफलको हो, जुन नेपाल ट्रस्टको नाममा दर्ता कायम छ । नेपाल ट्रस्टको कार्यालय र थामसेर्कु ट्रेकिङ प्रालिबीच निर्माण अवधि तीन वर्षसहित ३० वर्षका लागि लिज सम्झौता गरिएको थियो ।
सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो । अदालतमा दर्ता गरिएको अभियोगपत्रमा तीन जना प्रतिवादीलाई पाँच वर्ष कैद सजायको माग गरिएको छ ।