काठमाडौं ।
ओपनएआई–हार्भर्डको अध्ययनले देखायो प्रयोगको बदलिँदो प्रवृत्ति
ओपनएआई र हार्भर्ड विश्वविद्यालयका अर्थशास्त्री डेभिड डेमिङद्वारा गरिएको संयुक्त अध्ययनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबोट ‘च्याटजीपीटी’को प्रयोग ढाँचामा उल्लेखनीय परिवर्तन आएको देखाएको छ ।
अध्ययनअनुसार च्याटजीपीटीको प्रयोग पछिल्ला दिनहरूमा व्यावसायिक कार्यभन्दा व्यक्तिगत आवश्यकताका लागि बढी हुन थालेको छ । गैर–व्यावसायिक वा व्यक्तिगत प्रयोजनका लागि प्रयोग ५३ प्रतिशतबाट बढेर हाल ७० प्रतिशतभन्दा बढी पुगेको छ ।
मानिसहरूले च्याटजीपीटीलाई मुख्यतः सूचना तथा जानकारी खोज्न, व्यावहारिक मार्गदर्शन र सल्लाह लिन, तथा दैनिक जीवनका समस्या समाधान गर्न प्रयोग गरिरहेका छन् । यसले च्याटजीपीटीलाई केवल कामकाजी उपकरण नभई दैनिक जीवनसँग जोडिएको डिजिटल सहायकका रूपमा स्थापित गरिरहेको अध्ययनले देखाएको छ ।
कार्यस्थलसँग सम्बन्धित प्रयोगतर्फ हेर्दा ‘लेखन’ (राइटिङ) सबैभन्दा अग्रस्थानमा रहेको छ । परम्परागत सर्च इन्जिनको तुलनामा सामग्री सिर्जनामा च्याटजीपीटीको क्षमता प्रभावकारी भएकाले प्रयोगकर्ताहरू लेखन कार्यका लागि यसतर्फ आकर्षित भएको अनुसन्धानकर्ताहरूको निष्कर्ष छ । यद्यपि, कम्प्युटर प्रोग्रामिङका लागि यसको प्रयोग तुलनात्मक रूपमा कम देखिएको छ ।
अध्ययनले च्याटजीपीटी प्रयोगमा लैंगिक असमानता घट्दै गएको संकेत पनि दिएको छ । सन् २०२४ को जनवरीमा महिला प्रयोगकर्ताको हिस्सा ३७ प्रतिशत रहेकोमा जुलाईसम्म आइपुग्दा यो बढेर ५२ प्रतिशत पुगेको छ ।
अनुसन्धानकर्ताहरूका अनुसार च्याटजीपीटीले निर्णय प्रक्रियामा सहयोग पुर्याएर आर्थिक मूल्य सिर्जना गरिरहेको छ, जुन विशेष गरी ज्ञानमा आधारित पेसाहरूका लागि महत्त्वपूर्ण रहेको उल्लेख गरिएको छ ।
यसका साथै, न्यून र मध्यम आय भएका देशहरूमा च्याटजीपीटीको लोकप्रियता तीव्र गतिमा बढिरहेको पनि अध्ययनले देखाएको छ । सन् २०२४ को मेसम्मको तथ्यांकअनुसार सबैभन्दा कम आय भएका देशहरूमा च्याटजीपीटी अपनाउने दर धनी देशहरूको तुलनामा चार गुणा बढी रहेको पाइएको छ ।