काठमाडौँ ।
आज विश्वभर विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइँदैछ। सन् १९९० मा विश्व आप्रवासी कामदार तथा उनीहरूका परिवारको हकअधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि संयुक्त राष्ट्रसंघले पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १८ मा यो दिवस मनाउने गरिन्छ।
यस वर्षको अन्तर्राष्ट्रिय आप्रवासन दिवसको नारा ‘मेरो महान कथा: संस्कृति र विकास’ रहेको छ। यस नाराले मानव गतिशीलताले विकासलाई कसरी अघि बढाउँछ, समाजलाई समृद्ध बनाउँछ र समुदायहरूलाई आपसमा जोड्न, अनुकूलन गर्न तथा एकअर्कालाई सहयोग गर्न कसरी मद्दत गर्छ भन्ने सन्देश दिन्छ। विश्वभर बसाइँसराइले अर्थतन्त्र, समुदाय र समग्र विकासलाई प्रभाव पारिरहेको सन्दर्भमा यो सन्देश अझ महत्वपूर्ण मानिएको छ।
संयुक्त राष्ट्रसंघका अनुसार हाल विश्वभर करिब ३० करोड ४० लाख मानिस आप्रवासीका रूपमा विभिन्न देशमा बसोबास गरिरहेका छन्। विश्वव्यापीकरण, औद्योगिकीकरण तथा सूचना र सञ्चार प्रविधिको विस्तारसँगै अन्तर्राष्ट्रिय आप्रवासनको संख्या निरन्तर बढ्दो क्रममा छ। नेपालमा पनि राजनीतिक अस्थिरता र सीमित रोजगारीका अवसरका कारण पछिल्ला वर्षहरूमा रोजगारीका लागि विदेशिनेको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ।
रोजगारी तथा जीविकोपार्जनका लागि एक देशबाट अर्को देशमा गई बस्ने प्रक्रियालाई आप्रवासन भनिन्छ। आप्रवासी कामदारहरूमाथि हुने शोषण, विभेद र मानवअधिकार उल्लङ्घन रोक्न चेतना अभिवृद्धि गर्नु यस दिवसको मुख्य उद्देश्य हो।
आप्रवासी कामदारलाई सम्बन्धित देशका घरेलु कामदारसरह मान्यता, पारिश्रमिक, सामाजिक सुरक्षा र न्यूनतम मानवअधिकार सुनिश्चित गरिनुपर्ने सन्देशसहित यो दिवस विश्वभर मनाइन्छ। विदेशी नागरिक भएको कारण आप्रवासी कामदारमाथि कुनै किसिमको विभेद नहोस् भन्ने लक्ष्यसहित विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरिन्छ।