बागलुङ ।
ढोरपाटन सिकार आरक्षले पछिल्लो तीन वर्षमा वन्यजन्तुबाट पीडित किसानलाई ३८ लाख ६२ हजार रुपैयाँभन्दा बढी राहत उपलब्ध गराएको छ।
आरक्षले बागलुङ, म्याग्दी र पर्वत जिल्लाका किसानलाई राहत वितरण गरेको हो। वन्यजन्तुको आक्रमणबाट घरपालुवा घोडा, खच्चड, भेडाबाख्रा तथा गाईभैँसी मारिँदा किसानले ठूलो आर्थिक क्षति व्यहोर्दै आएका छन्।
ढोरपाटन सिकार आरक्षका अनुसार आर्थिक वर्ष २०७९/८० मा २४ लाख ९२ हजार, २०८०/८१ मा १२ लाख र २०८१/८२ मा एक लाख ७० हजार रुपैयाँ राहत वितरण गरिएको छ। चालु आर्थिक वर्षमा भने राहत उपलब्ध नगरिएको आरक्षका रेन्जर सागर सुवेदीले जानकारी दिनुभयो।
“सिकार आरक्ष क्षेत्र आसपासका किसानले ठूलो सङ्ख्यामा बस्तुभाउ पाल्दै आउनुभएको छ। हरेक वर्ष वन्यजन्तुको आक्रमणबाट बस्तुभाउ घाइते हुने वा मर्ने हुँदा केही भए पनि राहत उपलब्ध गराउँदै आएका छौँ,” रेन्जर सुवेदीले भन्नुभयो।
आहारको खोजीमा वन्यजन्तु भौतारिँदा पशुचौपायासँगै बारीमा लगाइएका बालीमा समेत क्षति पुग्ने गरेको स्थानीयको गुनासो छ। तर सिकार आरक्षले हालसम्म बाली क्षतिबापत राहत उपलब्ध गराएको छैन।
ढोरपाटन नगरपालिका–९ का स्थानीय तमबहादुर सुनारका अनुसार हरेक वर्ष वन्यजन्तुबाट आलु, सिमी लगायतका बाली हजारौँ रुपैयाँ बराबर नष्ट हुने गरेको छ। “बँदेल, बाँदर, चितुवा जस्ता वन्यजन्तुले भेडाबाख्रा खाने र बाली नष्ट गर्ने समस्या बढ्दो छ,” उहाँले भन्नुभयो।
निसीखोला गाउँपालिका–५ निसेलढोरका तीर्थबहादुर घर्ती मगरले पशुचौपायासँगै बाली क्षतिका लागि पनि राहत व्यवस्था गर्न सिकार आरक्षसँग माग गर्नुभयो।