काठमाडौं ।
नेकपा (एमाले) को ११औँ महाधिवेशनले नयाँ केन्द्रीय समितिमा रहने पदाधिकारीहरूको चयन प्रायः टुंगो लगाएको छ। अध्यक्ष पदमा केपी शर्मा ओली १,६६३ मतसहित विजयी भएका छन्।
अध्यक्षका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गरेका छन्। यससँगै संस्थापन पक्षले अध्यक्ष पदमा स्पष्ट जित हासिल गरेको छ।
त्यस्तै, महासचिव पदमा शंकर पोखरेल १,२२८ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत प्राप्त गरेका थिए।
उपाध्यक्ष पदका पाँच स्थानका लागि ११ जना उम्मेदवारबीच भएको प्रतिस्पर्धामा पृथ्वी सुब्बा गुरुङले सर्वाधिक १,७३७ मत प्राप्त गर्दै शीर्ष स्थानमा रहे। उनले पाएको मत अध्यक्ष ओलीको मतभन्दा समेत बढी रहेको छ।
अन्य उपाध्यक्षहरूमा रामबहादुर थापाले १,५१६ मत प्राप्त गरेका छन् भने ईश्वर पोखरेल पक्षबाट उम्मेदवारी दिएका गोकर्णराज विष्टले १,३६८ मत ल्याउँदै उपाध्यक्षमा निर्वाचित भएका छन्। यसैगरी, विष्णुप्रसाद पौडेलले १,६७५ मत र गुरुप्रसाद बरालले १,१३७ मत प्राप्त गरेका छन्।
महाधिवेशनको परिणामले एमालेभित्र संस्थापन पक्षको प्रभाव अझ सुदृढ भएको संकेत गरेको छ।