पोखरा
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताबिनाका अवस्थामा देशमा उद्योग–व्यवसायलगायत कुनै पनि गतिविधि अघि बढ्न नसक्ने बताउनुभएको छ। राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गते हुने निर्वाचनलाई सबैले मिलेर सफल बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
लेखनाथ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित २१औँ संस्करणको लेखनाथ महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले फागुन २१ गते निर्वाचन सम्पन्न हुन नसके देश ठूलो राजनीतिक सङ्कटतर्फ जान सक्ने चेतावनी दिनुभयो। राजनीतिक स्थिरताले उद्योग व्यवसाय फस्टाउने, रोजगारी सृजना बढ्ने र राजस्व वृद्धि भई समग्र अर्थतन्त्र बलियो हुने उहाँको भनाइ थियो।
प्रदेश सरकारले उद्योग व्यवसायमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले उद्योग सञ्चालन र विकासमा बाधक बनेका प्रदेशस्तरीय ऐन तथा कानुन संशोधन गर्न सरकार तयार रहेको स्पष्ट पार्नुभयो। गण्डकी प्रदेशमा उद्योग स्थापना गर्न पोखराको लेखनाथस्थित पुडिटार र नवलपुर क्षेत्रमा जग्गा व्यवस्थापनका लागि प्रदेश सरकारले योजना अघि बढाएको उहाँले जानकारी दिनुभयो।
गण्डकी प्रदेशमा उद्योग, पर्यटन र कृषिमा प्रचुर सम्भावना रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले युवालाई विदेश पलायनबाट रोक्न नयाँ रोजगारी सिर्जना आवश्यक रहेको बताउनुभयो। निजी क्षेत्रसँग सहकार्य गर्दै प्रदेश सरकार अघि बढ्ने उहाँको भनाइ छ। स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्दै घरेलु मदिराको ब्रान्डिङ सम्पन्न भइसकेको र गाँजालाई औषधीय प्रयोजनमा प्रयोग गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो।
मुस्ताङ र तिब्बत जोड्ने कोरला नाका गण्डकी प्रदेशको व्यापार र अर्थतन्त्रका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले यसले प्रदेशको आर्थिक सुदृढीकरणमा थप योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पछिल्ला घटनाक्रमका कारण उद्योगी व्यवसायीको मनोबल खस्किएको भन्दै उनीहरूको आत्मविश्वास बढाउन सरकार गम्भीर हुनुपर्ने बताउनुभयो। वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले निजी क्षेत्रबिनाको आर्थिक विकास सम्भव नभएकाले सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो।
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले निजी क्षेत्रलाई अघि बढाउन सके देशको अर्थतन्त्र मजबुत हुनेमा जोड दिनुभयो। कार्यक्रम लेखनाथ उद्योग वाणिज्य सङ्घकी अध्यक्ष जानुका पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो।
‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नारासहित सञ्चालन भएको लेखनाथ महोत्सव पुस ३ गतेदेखि १४ गतेसम्म चल्नेछ। स्थानीय उत्पादन, कृषि, हस्तकला, औद्योगिक उत्पादनको बजारीकरण तथा कला–संस्कृतिको संरक्षण महोत्सवको मुख्य उद्देश्य रहेको छ।
महोत्सवमा करिब दुई लाख ५० हजार दर्शक सहभागी हुने अनुमान गरिएको छ। करिब नौ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको महोत्सवबाट १० लाख रुपैयाँ बचत हुने अनुमान आयोजकले गरेका छन्। बचत रकम नवउद्यम प्रवर्द्धन, उद्यमशीलता विकास, औद्योगिक क्षेत्र निर्माण, पर्यटन प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा खर्च गरिने जनाइएको छ।
महोत्सवका आकर्षणमा औद्योगिक व्यापार मेला, स्थानीय कला–संस्कृतिको प्रदर्शन, हस्तकलाका सामग्री, सूचना प्रविधि तथा सञ्चार उपकरण, अटोमोबाइल, वित्तीय संस्थाका सेवा तथा जानकारीमूलक स्टलहरू रहेका छन्। साथै स्थानीय माछा, मह, सुन्तला, कफी, तरकारी, दुग्धजन्य उत्पादन, कन्सर्ट, दोहोरी गीत प्रतियोगिता, खाना महोत्सव र बाल उद्यानसमेत सञ्चालन गरिनेछ।