काठमाडौँ
नेकपा एमालेको ११औँ महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको छ। निर्वाचन परिणामले पार्टी नेतृत्व र केन्द्रीय कमिटी दुवैमा संस्थापन (ओली) पक्षको वर्चस्व पुष्टि गरेको छ।
खुला केन्द्रीय सदस्यतर्फ पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले सबैभन्दा बढी मत ल्याएका छन्। एकीकृत समाजवादीबाट एमालेमा फर्किएका रामकुमारी झाँक्री र किसान श्रेष्ठ पनि खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
अध्यक्षमा पराजित ईश्वर पोखरेल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। यस्तै, इतर पक्षका बिन्दा पाण्डे, रचना खड्का, कृष्णगोपाल श्रेष्ठ, आनन्द पोखरेल, कर्ण थापा, गोकुल बाँस्कोटा, अग्नि खरेल, ठाकुर गैरे, कृष्णभक्त पोखरेल, मिन्द्रमान घले, झपट रावल र राजबहादुर बुढा क्षेत्री केन्द्रीय कमिटीमा अटाएका छन्।
४० वर्षमुनिका युवाका लागि छुट्याइएको क्लस्टरबाट गोविन्द गिरी, रुद्रबहादुर शाही, लीलामणि गौतम, नवराज ओझा, निशा अधिकारी, मोबिन आलम, क्षितिज थेबे, सुनिता डंगोल, मनोज ताम्ली, सम्राट गौचन, अमरकुमार यादव, रौनिक शाह, नीता घतानी, नरेश रोकाया र सुशीलकुमार थापा निर्वाचित भएका छन्। अन्य समूहबाट सुहाङ नेम्वाङ, एलिशा गौतम र अस्मिता थापा पनि ४० वर्षमुनिका केन्द्रीय सदस्य बनेका छन्।
महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधिमध्ये २ हजार २ सय २७ जनाले मतदान गरेका थिए। केन्द्रीय कमिटीमा करिब ७० प्रतिशत सदस्य संस्थापन पक्षका भएपछि आगामी कार्यकालमा अध्यक्ष केपी शर्मा ओली संगठनात्मक रूपमा बलियो अवस्थामा रहने देखिएको छ।
