काठमाडौं
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय रूपमा सम्पन्न गराउन नेपाल प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ कार्यान्वयनमा ल्याउँदै सुरक्षा व्यवस्था चुस्त पारेको छ।
निर्वाचनलाई मध्यनजर गर्दै नेपाल प्रहरीले जनशक्ति परिचालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाएको छ। निर्वाचन आयोगका निर्णयहरूलाई आत्मसात् गर्दै उपलब्ध स्रोत–साधनको अधिकतम उपयोगमार्फत निर्वाचन सम्पन्न गर्न प्रहरी दृढ संकल्पित रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।
उनका अनुसार निर्वाचनलक्षित गस्तीलाई थप प्रभावकारी र पहुँचलाई व्यापक बनाइएको छ। हालसम्म लामो दूरीको गस्ती एक हजार १३६ पटक र छोटो दूरीको गस्ती तीन लाख ८९ हजार ९६० पटक सञ्चालन गरिएको छ। ती गस्तीमा १३ लाख ४६ हजार ३२८ जना सुरक्षाकर्मी परिचालित गरिएको छ।
निर्वाचनका क्रममा हुनसक्ने तोडफोड, आगजनी तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरीले दिनानुदिन गस्तीलाई अझ प्रभावकारी बनाउँदै आएको काफ्लेले बताए। ‘निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन नियमित गस्तीका साथै सूचना सङ्कलन, खतरा मूल्याङ्कन, विश्लेषण र सूचनाको प्रभावकारी प्रवाहमा विशेष ध्यान दिइएको छ,’ उनले भने।
सीमावर्ती क्षेत्रमा हुने घुसपैठ र आपराधिक गतिविधि नियन्त्रणका लागि नियमित अनुगमन तथा प्रभावकारी रूपमा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ। उम्मेदवार, मतदाता, राजनीतिक दलका नेता, महत्त्वपूर्ण व्यक्ति, निर्वाचन पर्यवेक्षक, सञ्चारकर्मी, चुनाव प्रचार–प्रसार र विजय जुलुसको सुरक्षा व्यवस्थापनलाई मजबुत बनाउन आवश्यक सुरक्षा रणनीति अवलम्बन गरिएको छ।
त्यसैगरी, महत्त्वपूर्ण तथा संवेदनशील प्रतिष्ठान र संरचनामा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ। निर्वाचन विरोधी समूहका गतिविधिको निगरानी, नियन्त्रण र कारबाही, अवैध तथा जबर्जस्ती चन्दा संकलन र धम्की नियन्त्रण, अराजक, उच्छृङ्खल तथा आपराधिक गतिविधि र गुण्डागर्दी नियन्त्रणमा प्रहरी सक्रिय रहेको जनाइएको छ।
आन्दोलनका क्रममा लुटिएका तथा हराएका हातहतियारबाट हुनसक्ने सम्भावित जोखिम निस्तेज गर्न विशेष टोली गठन गरी हातहतियारको पहिचान र बरामद कार्य तीव्र पारिएको छ। साथै फरार कैदीबन्दी तथा थुनुवाहरूको खोजी र पक्राउमा पनि प्रहरी सक्रिय रहेको जनाएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको ‘एकीकृत सुरक्षा योजना, २०८२’ गृह मन्त्रालयबाट स्वीकृत भइसकेको सन्दर्भमा निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गराउन नेपाल प्रहरी प्रधान कार्यालय कार्यविभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीको अध्यक्षतामा केन्द्रीय निर्वाचन सेल गठन गरिएको छ।