ललितपुर
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको प्रयोगलाई व्यापक रूपमा बढावा दिनुपर्ने बताएका छन्।
‘भविष्यका लागि बाँसको आवास’ भन्ने नाराका साथ ‘ह्याविट्याट फर ह्युम्यानिटी नेपाल’ले ललितपुरमा आयोजना गरेको ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ विमोचन कार्यक्रममा बोल्दै मन्त्री घिसिङले स्थानीय उत्पादन र प्रविधिको प्रयोगले रोजगारी सिर्जना हुनुका साथै अर्थतन्त्र सुदृढ हुने बताए।
उनका अनुसार बाँसको व्यावसायिक खेती र प्रयोगले आन्तरिक माग बढाउनुका साथै संरचना निर्माणमा खर्च हुने विदेशी मुद्रा बचत गर्नसमेत सहयोग पुग्नेछ। “संरचना निर्माणमा स्थानीय प्रविधिको प्रयोग गरौँ र हाम्रो मौलिकताको संरक्षणमा जोड दिऔँ,” उनले भने।
सहरी विकासमन्त्रीसमेत रहेका घिसिङले स्वदेशमै उपलब्ध काठ तथा काठजन्य सामग्रीको प्रयोग नहुँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको उल्लेख गर्दै प्रभावकारी, प्रविधिमैत्री तथा भूकम्प प्रतिरोधी संरचना निर्माणमा बाँसजस्ता स्थानीय सामग्री प्रयोग गर्नुपर्नेमा जोड दिए।
“काठ आयातमा ठूलो रकम खर्च भइरहेको छ। बाँसका संरचनालाई व्यवहारमा ल्याउन सके अर्थतन्त्रमा ठूलो परिवर्तन आउन सक्छ,” उनले भने।
कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले स्थानीय उत्पादनको प्रयोग प्रवर्द्धन गर्न मन्त्रालय पूर्ण रूपमा तयार रहेको बताए। सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहराले स्थानीय सन्दर्भअनुकूल, जलवायुमैत्री तथा भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि आवश्यक नीतिगत व्यवस्था, मापदण्ड र निर्देशिका तयार गरी कार्यान्वयन गर्न विभाग प्रतिबद्ध रहेको जानकारी दिए।