काठमाडौं ।
गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा सरकारी कार्यालयहरूमा तोडफोड र लुटपाट गरेको आरोपमा तीन जना युवाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पुस ३ गते हुम्ला र जाजरकोट घर भएका तीन जना विरुद्ध आपराधिक उपद्रव र डाँका कसुरमा थप दाबी अभियोग पत्र दायर गरेको हो। मुद्दा चलाइएकाहरूमा हुम्लाका २१ वर्षीय बमराज कामी, २२ वर्षीय विकास विक र जाजरकोटका २३ वर्षीय जितेन्द्र विक रहेका छन्।
अभियोग अनुसार आन्दोलनका क्रममा उत्तेजित भीड सिंहदरबारको मुख्य गेट फोडेर भित्र प्रवेश गरेको थियो। सोही भीडमा मिसिएर यी प्रतिवादीहरूले विभिन्न मन्त्रालयका भवनहरूमा ढुङ्गामुढा गर्ने, झ्याल ढोका फोड्ने, आगजनी गर्ने र सरकारी सवारी साधनमा क्षति पुर्याउने कार्य गरेका थिए।
साथै, मन्त्रालयभित्र रहेका कम्प्युटर, प्रिन्टर लगायतका महँगा उपकरणहरू चोरी गरेको आरोप पनि उनीहरूमाथि छ। प्रहरी अनुसन्धान अनुसार उनीहरूले ‘कालो रङको गुड्ने कुर्ची’मा ती उपकरण राखी सिंहदरबार बाहिर निकालेका थिए। मंसिर २१ गते उनीहरूको डेरामा खानतलासी गर्दा बरामद भएको सामानमा एचपी इन्टेल कोर आई–सेभेन भी प्रो मोनिटर, प्यान्टम एम६७०२डीडब्लु प्रिन्टर, जेडी प्रो डिजिटल वर्ल्ड किबोर्ड, ल्यापटप चार्जर र पावर कर्ड आदि रहेका थिए।
सामाजिक सञ्जालमा भाइरल भिडियो र फोटो विश्लेषणबाट उनीहरूको पहिचान भएको थियो। भिडियोमा कालो ज्याकेट, कालो चस्मा र मास्क लगाएका व्यक्तिहरू सिंहदरबारभित्र तोडफोड गर्दै कुर्सीमा प्रिन्टर राखी गुडाउँदै लगेको दृश्य देखिएको थियो।
पक्राउ परेका बमराज कामी र विकास बिकासले बयानमा उक्त कार्य आफूहरूले नै गरेको स्वीकार गरेका छन्। सरकारी वकिल कार्यालयले उनीहरू विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ (आपराधिक उपद्रव) र दफा २४४ (डाँका चोरी) अन्तर्गत सजायको माग गरेको छ।
तीन वा सोभन्दा बढी व्यक्ति मिलेर चोरी गरेको हुँदा यसलाई डाँका मानिएको छ। यस कसुरमा ५–१० वर्षसम्म कैद र ५० हजार–१ लाख रुपैयाँ जरिवाना, तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएकोमा ४ वर्षसम्म कैद र ४० हजार रुपैयाँ जरिवानाको माग गरिएको छ। साथै सरकारी सम्पत्ति क्षतिपूर्तिका लागि बिगो भुक्तानीको माग पनि गरिएको छ।
यसअघि सोही घटनामा संलग्न ‘एलेक्स’ नामक कुमार पराजुलीविरुद्ध मुद्दा दायर भइसकेको छ। यो अभियोग पत्र त्यसै मुद्दाको पूरक (थप दाबी) को रूपमा दर्ता गरिएको हो।