सुर्खेत ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत जाजरकोट खण्ड ११ वर्ष बितिसक्दा पनि अझै अधुरै रहेको छ। जाजरकोट खण्डको ८५ किलोमिटर सडकमध्ये हालसम्म ५५ किलोमिटर मात्र कालोपत्र भएको छ भने झण्डै ३० किलोमिटर सडक निर्माण कार्य अझै पूरा हुन सकेको छैन।
लोकमार्गको कुदुदेखि थलहसम्मको सडक खण्ड अधुरो छ भने थलहदेखि सुवायासम्मको सडक निर्माण सम्पन्न भई यातायात सञ्चालनमा आइसकेको छ। अधुरो खण्डका कारण वर्षेनी यातायात र विकासमा समस्या हुँदै आएको स्थानीयवासीले गुनासो गरेका छन्।
यसै सडक खण्डमा पर्ने ६ सय ९७ मिटर लामो मन्ताभिर ११ वर्ष बित्दा पनि कटान हुन सकेको छैन। योजना प्रमुख इञ्जिनियर निरञ्जन थापाका अनुसार निर्माण व्यवसायी पुनः काममा फर्किएको र मन्ताभिर क्षेत्रमा सर्भे सुरु गर्ने तयारी भइरहेको छ।
शर्मा/सिंह एण्ड ब्रदर्श, काठमाडौँले ठेक्का लिएको यो सडक पाँच खण्डमा विभाजन गरिएको छ। भेरी नगरपालिकाको कुदुबाट छेडागाड नगरपालिकाको सुयाडासम्म फैलिएको यो राजमार्गमा अधिकांश खण्ड समयमै सम्पन्न हुन सकेका छैनन्।
कुदु–स्याउलीखोलासम्मको १७ किलोमिटर सडक २०७५ सालमै सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म ८० प्रतिशत मात्र प्रगति भएको छ। स्याउलीखोला–कार्कीगाउँ खण्डको १८ किलोमिटर सडक तथा कार्कीगाउँ–मन्ताभिरको १० किलोमिटर सडक पनि पटक–पटक म्याद थपिँदा समेत अधुरै छन्। मन्ताभिर–थलह बजारसम्मको ९.६ किलोमिटर सडकको प्रगति ४५ प्रतिशतमा सीमित रहेको छ।
करिब ३१ किलोमिटर लामो थलह–सुयाडा सडक भने निर्माण सम्पन्न भई यातायात सञ्चालनमा आएको छ। तर बाँकी खण्ड समयमै पूरा नहुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन्। स्थानीय राजेन्द्रविक्रम शाहले ११ वर्षसम्म म्याद थप्दा पनि सडक निर्माण नहुनु दुःखद भएको बताए।
यो सडक भेरी करिडोरसँग कुदुमा जोडिन्छ। तर भेरी नदीमा नौ वर्षभन्दा बढी समयदेखि पुल निर्माण अधुरै रहँदा कुदु–दैलेख सिधा यातायात अझै सञ्चालन हुन सकेको छैन। जाजरकोटको दारेगौरा र रुकुम पश्चिमको चौरजहारी जोड्ने भेरी पुल पनि १३ वर्ष बित्दा समेत पूरा हुन सकेको छैन।
तीन वर्षभित्र सम्पन्न हुनुपर्ने पुलको पिलरसमेत नबन्दा समस्या जटिल बनेको स्थानीयको भनाइ छ। वाइपी कन्स्ट्रक्सन प्रालिले २०६९ सालमा पुल निर्माणको ठेक्का लिए पनि ठेक्का विवाद र अदालत प्रक्रिया कारण काम लम्बिएको बताइएको छ।
लामो समयसम्म काम अलपत्र परेपछि संसदीय समितिले अनुगमन गर्ने भनिए पनि प्रतिनिधिसभा विघटनसँगै प्रक्रिया रोकिएको थियो। हाल नयाँ सरकारले ताकेता गरेपछि निर्माण व्यवसायी पुनः काममा फर्किएको योजना प्रमुख इञ्जिनियर थापाले जानकारी दिए।
विसं २०८२ कात्तिक १६ गते पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय दैलेखले १५ दिनभित्र ठेक्का अन्त्य गरी कारबाही नगर्नुको कारण माग गर्दै सूचना निकालेपछि निर्माण कार्य अघि बढेको जनाइएको छ।
सडक र पुल दुवै अधुरो हुँदा यस क्षेत्रका राजनीतिक दलका नेताहरू निरन्तर आलोचनाको सामना गर्नुपरेको स्थानीयले बताएका छन्। (रासस)