काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धरौटीमा रिहा भएका छन्। भैरहवास्थित जिल्ला अदालत रूपन्देहीमा आवश्यक कागजी प्रक्रिया पूरा गरेपछि शुक्रबार साँझ उनी रिहा भएका हुन्।
लामिछानेले कुल तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएका छन्। यसमध्ये दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो बराबरको बैंक ग्यारेन्टी र यसअघि जिल्ला अदालतले तोकेको एक करोड रुपैयाँ धरौटी रकम समावेश छ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशहरू वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले बिहीबार लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएको थियो। सो आदेशअनुसार आवश्यक प्रक्रिया पूरा गरी उनलाई रिहा गरिएको रूपन्देही जिल्ला अदालतले जनाएको छ।
यसअघि गत माघ १३ गते जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा पुर्पक्षका लागि छाड्ने आदेश दिएको थियो। पछि उच्च अदालतले बिगो बराबरको थप रकम बुझाउने सर्तसहित धरौटीमा रिहा गर्न आदेश दिएको हो।
उच्च अदालतमा दायर निवेदनमा लामिछानेले आफ्नो भागमा पर्ने दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाउने प्रतिबद्धता जनाएका थिए। अदालतले उक्त प्रतिबद्धता स्वीकार गर्दै रिहा गर्ने आदेश दिएको जनाएको छ।
काठमाडौंबाट भरतपुरसम्म हवाइमार्ग र त्यहाँबाट सडकमार्ग हुँदै शुक्रबार साँझ पौने ६ बजे रुपन्देही पुगेका लामिछाने आवश्यक प्रक्रिया पूरा भएपछि जिल्ला कारागारबाट छुटेका हुन्। सुरुमा उनलाई रुपन्देही कारागारमा राखिएको थियो भने पछि उनको निवेदनअनुसार ललितपुरस्थित नख्खु कारागारमा सरुवा गरिएको थियो।
लामिछाने रिहा हुँदा भैरहवा कारागार परिसरमा रास्वपाका नेता, कार्यकर्ता तथा समर्थकहरूले नाराबाजी गर्दै खुसीयाली मनाएका थिए।
बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालतले केही शर्त र बैंक जमानतका आधारमा धरौटीमा रिहा गर्न आदेश दिएको हो।