वासिङ्टन, पुस ४
अमेरिकी प्रतिबन्धको सम्भावित जोखिम टार्न सामाजिक सञ्जाल कम्पनी टिकटकले लगानीकर्तासँग संयुक्त उद्यम (ज्वाइन्ट भेन्चर) सम्झौतामा हस्ताक्षर गरेको छ। यस सम्झौताले टिकटकलाई संयुक्त राज्य अमेरिकामा आफ्नो सञ्चालन निरन्तर कायम राख्न तथा चिनियाँ स्वामित्वसम्बन्धी प्रतिबन्धबाट जोगिन मार्ग प्रशस्त गरेको छ।
एएफपीले अध्ययन गरेको आन्तरिक मेमोअनुसार टिकटकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शौ च्यूले कर्मचारीलाई जानकारी गराउँदै टिकटक र यसको चिनियाँ मूल कम्पनी बाइटडान्स ओरेकल, सिल्भर लेक तथा अबु धाबीस्थित एमजीएक्सलाई प्रमुख लगानीकर्ताका रूपमा समेटेर नयाँ अमेरिकी एकाइ गठन गर्न सहमत भएको बताउनुभएको छ। ओरेकलका कार्यकारी अध्यक्ष तथा संस्थापक ल्यारी एलिसन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दीर्घकालीन सहयोगी मानिन्छन्।
मेमोमा च्यूले स्पष्ट पार्दै भन्नुभएको छ, “अमेरिकी संयुक्त उद्यम अमेरिकी प्रयोगकर्ताको डाटा सुरक्षा, एल्गोरिदम सुरक्षा, सामग्री मोडरेशन र सफ्टवेयर आश्वासनका लागि पूर्ण रूपमा जिम्मेवार हुनेछ।” उहाँका अनुसार नयाँ संरचनाले अमेरिकी प्रयोगकर्ताका लागि सामग्री, सफ्टवेयर र डाटा सुरक्षित रहेको सुनिश्चित गर्न विशेष अधिकार पाउने छ।
सम्झौताअनुसार नयाँ अमेरिकी उद्यमको करिब आधा हिस्सा ओरेकल, सिल्भर लेक र एमजीएक्ससहितका नयाँ लगानीकर्ताको कन्सोर्टियमसँग रहनेछ, जसमा प्रत्येकको करिब १५ प्रतिशत स्वामित्व हुनेछ। बाइटडान्ससँग प्रत्यक्ष रूपमा २० प्रतिशत स्वामित्व मात्र रहनेछ, जुन अमेरिकी कानुनले चिनियाँ कम्पनीलाई अनुमति दिएको अधिकतम सीमा हो। बाँकी हिस्सा बाइटडान्सका विद्यमान लगानीकर्तासँग सम्बद्ध पक्षको हातमा रहने जनाइएको छ।
मेमोमा उल्लेख भएअनुसार टिकटक ग्लोबलको अमेरिकी एकाइले विश्वव्यापी उत्पादन अन्तरक्रियाशीलता, ई–वाणिज्य, विज्ञापन तथा मार्केटिङसम्बन्धी केही व्यावसायिक गतिविधि पनि व्यवस्थापन गर्नेछ। यद्यपि, सम्झौतालाई पूर्ण रूपमा अन्तिम रूप दिन जनवरी २२ अघि अझै केही प्रक्रिया पूरा गर्नुपर्ने च्यूले जानकारी गराउनुभएको छ।
यो सम्झौता पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा पारित गरिएको त्यस कानुनको प्रत्यक्ष परिणाम हो, जसले बाइटडान्सलाई टिकटकको अमेरिकी कारोबार बेच्न वा प्रतिबन्ध भोग्न बाध्य बनाएको थियो। अमेरिकी अधिकारीहरूले लामो समयदेखि चीनले टिकटकमार्फत अमेरिकी प्रयोगकर्ताको डाटा सङ्कलन गर्न वा प्रभाव पार्न सक्ने आशङ्का व्यक्त गर्दै आएका छन्।
राष्ट्रपति ट्रम्पले यस विषयमा पटक–पटक कार्यकारी आदेशमार्फत समयसीमा सार्दै आउनुभएको थियो। सेप्टेम्बरमा ह्वाइट हाउसले चीनसँग संयुक्त उद्यममा सहमति भइसकेको र कानुनी आवश्यकता पूरा हुने घोषणा गरेको थियो, जुन हालको सम्झौताबाट धेरै हदसम्म पुष्टि भएको छ।
बाइटडान्सले सम्झौतामा तत्काल प्रतिक्रिया नदिए पनि विश्लेषकहरूका अनुसार यस सम्झौताले कम्पनीलाई आफ्नो सबैभन्दा महत्वपूर्ण बजार गुम्नबाट जोगाएको छ। चिनियाँ प्रविधि परामर्शदाता ली चेङडोङले भन्नुभयो, “अमेरिकी सञ्चालन कायम रहनु नै बाइटडान्सका लागि ठूलो उपलब्धि हो।”
विज्ञहरूका अनुसार यस व्यवस्थाले बाइटडान्सलाई कृतिम बौद्धिकता (एआई) जस्ता नयाँ परियोजनामा ध्यान केन्द्रित गर्न तथा सम्भावित प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)तर्फ अघि बढ्न सहयोग पुर्याउन सक्छ। तर विश्लेषक झाङ यीले अमेरिकी नियामकले भविष्यमा पनि टिकटकमाथि दबाब कायम राख्न सक्ने चेतावनी दिनुभएको छ।