काठमाडौँ ।
मुलुक बचाउने नागरिक अभियान का प्रमुख युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइ आदेश दिने न्यायाधीशहरूविरुद्ध कारबाहीको माग गर्दै न्याय परिषद् सचिवालयमा उजुरी दर्ता गराएका छन्।
शुक्रबार दर्ता गरिएको उजुरीमा सफलले उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलाई तत्काल निलम्बन गरी हदैसम्मको कारबाही गर्न माग गरेका छन्। उजुरीमा रवि लामिछाने न्यायाधीशसँग ‘सेटिङ’ मिलाएर रिहा भएको आरोप लगाइएको छ।
सफलका अनुसार पटक–पटक परेको पेसी स्थगित गरिँदै आफूअनुकूल बेन्च परेको बेला मात्र सुनुवाइ अघि बढाइएको थियो। उनले यसलाई ‘बेन्च सपिङ’ को संज्ञा दिँदै रिट दर्ता र अनुकूल आदेश गराउन लाखौँ रुपैयाँ खर्च भएको चर्चा रहेको दाबी गरेका छन्।
उजुरीमा उल्लेख भएअनुसार साउन १९ गते पेश गरिएको निवेदन तीन दिनसम्म दर्ता नगरी साउन २२ गते मात्र दर्ता गरिएको थियो। साथै, अधिकांश पेसीहरूमा रवि लामिछानेका कानुन व्यवसायीले नै सुनुवाइ हटाउने गरेको दाबी पनि गरिएको छ।
सफलले मिति २०८२ पुस ०३ गते उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश आचार्य र पौडेलको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको आदेश उल्ट्याउँदै २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो तिराएर रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएको उल्लेख गरेका छन्।
उजुरीमा न्यायाधीश बासुदेव आचार्य ‘पटके न्यायाधीश’ रहेको दाबीसमेत गरिएको छ। सफलले उक्त आदेशले न्यायालयप्रति जनविश्वासमा गम्भीर प्रश्न उठाएको भन्दै न्याय परिषद्ले तत्काल छानबिन अघि बढाउनुपर्ने माग गरेका छन्।
यस विषयमा सम्बन्धित पक्षको औपचारिक प्रतिक्रिया भने आइसकेको छैन।

