नवलपरासी (बर्दघाट सुस्तापूर्व)
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता–२०८२ आजदेखि सुरु हुँदैछ।
कावासोती नगरपालिका–१६, डण्डामा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी पुलिस क्लब र आयोजक टिम कावासोती ‘ए’ बीच प्रतिस्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष तेजनारायण अर्यालले जानकारी दिनुभयो।
सनलाइट सामुदायिक विकास केन्द्रको आयोजनामा कावासोती नगरपालिकाको प्रवर्द्धन तथा कावासोती नगरपालिका–१६ र नवलपुर जिल्ला फुटबल सङ्घको समन्वयमा प्रतियोगिता सञ्चालन हुन लागेको हो। प्रतियोगितामा देशभरका १२ टोली सहभागी हुनेछन्। सबै खेलहरू कावासोती–१६, डण्डा बजारस्थित सनलाइट सामुदायिक विकास केन्द्रको खेल मैदानमा हुनेछन्।
प्रतियोगिताको विजेता टोलीले रु तीन लाख एक हजार नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु एक लाख ५० हजार नगद पुरस्कार हात पार्नेछ। यस्तै, सेमिफाइनलमा प्रवेश गर्ने दुई टोलीलाई जनही रु २५ हजार प्रदान गरिने खेलका आर्थिक संयोजक तेजबहादुर केसीले बताउनुभयो।
आयोजकका अनुसार प्रतियोगिताले स्थानीय खेलाडीको क्षमता अभिवृद्धि गर्नुका साथै युवालाई खेलकुदतर्फ आकर्षित गर्ने र कावासोती क्षेत्रलाई खेल पर्यटनको केन्द्रका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। प्रतियोगिता पुस १६ गतेसम्म सञ्चालन हुनेछ।
पहिलोपटक कावासोतीमा गोल्डकप आयोजना गर्न लागिएको र आगामी वर्षहरूमा समेत यसलाई निरन्तरता दिइने अध्यक्ष अर्यालले बताउनुभयो। उहाँले भन्नुभयो, “खेल क्षेत्रको विकास र स्थानीय खेलाडी उत्पादनका लागि यो प्रतियोगिता फलदायी हुने विश्वास छ, त्यसैले आगामी वर्षहरूमा पनि निरन्तर आयोजना गरिनेछ।”