काठमाडौँ
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आठ जना नेपाली खेलाडीलाई ओलम्पिक एथलिट छात्रवृत्ति प्रदान गरेको छ। छात्रवृत्तिको उद्देश्य सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक खेलकुदका लागि खेलाडीलाई आर्थिक तथा व्यावसायिक रूपमा तयार पार्नु रहेको एनओसीले जनाएको छ।
छात्रवृत्ति पाउने खेलाडीमा जुडोकी मनिता श्रेष्ठ प्रधान, टेनिसकी शिभाली गुरुङ, साइक्लिङकी उषा खनाल, टेबलटेनिसकी इभाना थापा, ब्याडमिन्टनका प्रिन्स दाहाल, स्पोर्ट क्लाइम्बिङका तेन्जिङ बेरटिन राई, पौडीका इर्भिन श्रेष्ठ र गल्फका सद्भाव आचार्य छन्।
ओलम्पिक सोलिडारिटी कार्यक्रमअन्तर्गत छनोट भएका यी खेलाडीले आगामी २४ महिनासम्म प्रत्येक महिना १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यो छात्रवृत्ति नेपाली खेलकुद इतिहासमै अहिलेसम्मकै सबैभन्दा ठूलो र कीर्तिमानी आर्थिक सहयोग मानिएको छ। उक्त रकम सिधै खेलाडीको खातामा जम्मा गरिने एनओसीले जनाएको छ।
सन् २००४ देखि ओलम्पिक छात्रवृत्ति कार्यक्रम सञ्चालन हुँदै आएको छ। यसअघि यही छात्रवृत्तिमा रहेर जुडोकी मनिता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिकमा सहभागिता जनाइसकेकी छन्। ओलम्पिक छात्रवृत्तिको सातौँ संस्करणसम्म आइपुग्दा यस कार्यक्रमले अझ व्यापक र व्यवस्थित रूप लिएको एनओसीको दाबी छ।
आठ खेलाडीको छनोट एनओसीका राजीव श्रेष्ठ, टासी घले र सुजनलाल श्रेष्ठ सम्मिलित समितिले गरेको हो। कमिटीका महासचिव राजीव श्रेष्ठले यो कार्यक्रमले नेपाली खेलकुदमा नयाँ ऊर्जा र आशा थप्ने विश्वास व्यक्त गरे। उपाध्यक्ष चतुरानन्द राजवैद्यले छात्रवृत्तिले खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा अझ राम्रो प्रदर्शन गर्न प्रेरणा दिने बताए।
एनओसीका अनुसार प्राप्त रकम खेलाडीको व्यवस्थित प्रशिक्षण, विदेशमा अभ्यास, तथा ओलम्पिक छनोटका लागि आवश्यक प्रतियोगितामा सहभागिताका लागि प्रयोग गरिनेछ।
यसैबीच, एनओसीले सन् २०२६ मा जापानको आइची/नागोयामा हुने एसियाली खेलकुदका लागि आफ्नै स्रोतबाट पाँच खेलाडीलाई पनि छात्रवृत्ति प्रदान गरेको छ। उक्त छात्रवृत्तिअन्तर्गत करातेकी एरिका गुरुङ र सानुमाया थिङ, बक्सिङका चन्द्रबहादुर थापा, आर्चरीका तिलक पुनमगर र उसुकी सुष्मिता तामाङले नौ महिनासम्म मासिक ५० हजार रुपैयाँ पाउनेछन्।
त्यसैगरी, डाकारमा हुने युथ ओलम्पिकका लागि उसुकीकी रश्मि तामाङलाई पनि १० महिनासम्म मासिक ५० हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरिएको छ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले सरकार र निजी क्षेत्रसँग सहकार्य गरेर नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने लक्ष्य रहेको बताए। “अब नेपाल ठूला प्रतियोगितामा सहभागितामै सीमित नहुने, परिणाममुखी प्रदर्शन गर्ने दिशामा अघि बढ्नुपर्छ,” उनले भने।