काठमाडौँ
बङ्गलादेशस्थित नेपाली दूतावासको आयोजनामा शुक्रबार साँझ राजशाहीमा ‘नेपाल–बङ्गलादेश आर्थिक सहकार्य’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले नेपाल–बङ्गलादेशबीच विभिन्न क्षेत्रमा द्विपक्षीय आर्थिक सहकार्यमा देखिएको स्थिर प्रगतिबारे जानकारी गराउनुभयो। उहाँले ऊर्जा व्यापार, लगानी तथा पर्यटन क्षेत्रमा हासिल भएका उपलब्धि उल्लेख गर्दै यी क्षेत्रमा सहकार्य थप विस्तार हुँदै गएको बताउनुभयो।
दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन व्यवसायिक समुदायको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै राजदूत भण्डारीले सहभागीहरूलाई आपसी हितका क्षेत्रमा नेपाली व्यवसायिक साझेदारसँग सहकार्य अझ गहिरो बनाउन आह्वान गर्नुभयो।
सो अवसरमा नेपाली दूतावासकी प्रथम सचिव योजना बाम्जनले नेपाल–बङ्गलादेश आर्थिक सहकार्यका प्रमुख क्षेत्रबारे विस्तृत प्रस्तुति दिनुभएको दूतावासले जनाएको छ। उहाँले व्यापार, लगानी, सम्पर्क सञ्जाल, शिक्षा तथा जनस्तरको सम्पर्कलगायतका क्षेत्रमा सहकार्य विस्तारका सम्भावनाबारे जानकारी गराउनुभयो।
अन्तरक्रियात्मक सत्रमा सहभागीहरूले उठाएका जिज्ञासा तथा चासोका विषयमा राजदूत भण्डारीले स्पष्टिकरण दिनुभएको थियो। कार्यक्रममा राजशाहीस्थित विभिन्न सरकारी निकाय तथा व्यवसायिक सङ्घ–संस्थाका प्रतिनिधिहरूले धारणा राखेका थिए।
कार्यक्रममा उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, प्रतिष्ठित व्यवसायी, ट्राभल तथा टुर उद्यमी र सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।