पछिल्ला दशकमा नेपालले कण्ठरोग (इन्डेमिक गोइटर) निवारणमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ । आयोडिनयुक्त नुनको सर्वसुलभ पहुँच विस्तारसँगै पहाडी तथा हिमाली क्षेत्रमा कहिल्यै नसकिने जस्तो देखिएको गलगाँडको समस्या अहिले शून्यमा झरेको छ ।
विगतमा आयोडिनयुक्त नुनको अभावका कारण घाँटीको अघिल्लो भागमा डल्लो देखिनु सामान्य ठानिन्थ्यो । कतिपय समुदायमा त गलगाँडलाई सुन्दरतासँग समेत जोडेर हेर्ने चलन थियो । तर सरकारले कण्ठरोग नियन्त्रण कार्यक्रमअन्तर्गत देशव्यापी रूपमा आयोडिनयुक्त नुनको वितरण अभियान सञ्चालन गरेपछि अवस्था आमूल परिवर्तन भएको हो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पछिल्लो अध्ययन प्रतिवेदनले देशभर आयोडिनयुक्त नुनको पहुँच लगभग शतप्रतिशत पुगेको देखाएको छ । यससँगै आयोडिनको कमीका कारण देखिने गलगाँड तथा त्यससँग सम्बन्धित स्वास्थ्य समस्याहरू निवारण भएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राथमिकतामा रहेको कण्ठरोग निवारण कार्यक्रम कार्यान्वयनमा साल्ट ट्रेडिङ कर्पोरेसनको भूमिका निर्णायक रहेको छ । राष्ट्रिय योजना आयोगको ‘आन्तरिक मूल्याङ्कन प्रतिवेदन २०७३’ अनुसार दुर्गम हिमाली तथा पहाडी क्षेत्रसम्म नुनको नियमित र व्यवस्थित आपूर्तिका कारण कार्यक्रम सफल भएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार पछिल्ला वर्षहरूमा विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा आयोडिनको कमीले हुने गलगाँड शून्यमा झरेको छ । साथै हाइपरथाइरोइडिज्म, मानसिक तथा शारीरिक क्षमतामा कमी आउने जस्ता समस्यामा समेत उल्लेखनीय गिरावट आएको छ ।
मन्त्रालयका तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७०/०७१ देखि हालसम्म कण्ठरोग निवारण कार्यक्रमले शतप्रतिशत सफलता प्राप्त गरेको छ । दुर्गम हिमाली तथा पहाडी २२ जिल्लामा आयोडिनयुक्त नुनको सहज आपूर्ति सुनिश्चित गरिँदा जोखिमयुक्त क्षेत्रमा समेत गलगाँडको समस्या अन्त्य भएको हो । गत आर्थिक वर्षमा मात्रै एक लाख दुई हजार पाँच सय क्विन्टल नुन ती क्षेत्रमा आपूर्ति गरिएको थियो ।
भान्साभान्सामा आयोडिनयुक्त नुन
कालिकोट, जुम्लालगायत दुर्गम जिल्लामा समेत अहिले ढिके नुनको प्रयोग लगभग अन्त्य भएको स्थानीय जनप्रतिनिधिहरू बताउँछन् । कालिकोटको तिलागुफा नगरपालिकाका प्रमुख शंकरप्रसाद उपाध्यायका अनुसार आयोडिनयुक्त नुन नगरवासीको भान्सासम्म पुगेको छ । “अब सहुलियत दरको नुन वितरण अझ प्रभावकारी बनाउन बिक्री डिपो थप्न आवश्यक छ,” उहाँले भन्नुभयो ।
विद्यालय, स्वास्थ्य चौकी र स्थानीय तहको समन्वयमा आयोडिनयुक्त नुनको महत्वबारे जनचेतना बढेपछि गलगाँड भएका मानिस गाउँमा देखिन छाडेका छन् । स्वास्थ्यकर्मीहरूका अनुसार आयोडिनको कमीले गर्भवती, नवजात शिशु र बालबालिकामा गम्भीर असर पार्ने भएकाले यस अभियानको प्रभाव दीर्घकालीन रूपमा महत्त्वपूर्ण छ ।
वार्षिक दुई लाख टनभन्दा बढी नुनको माग
हाल देशभर वार्षिक दुई लाख टनभन्दा बढी आयोडिनयुक्त नुनको माग हुने गरेको छ । यही मागअनुसार साल्ट ट्रेडिङ कर्पोरेसनले नियमित आपूर्ति गर्दै आएको छ । कर्पोरेसनका अनुसार गत आर्थिक वर्षमा दुई लाख १० हजार टन आयोडिनयुक्त नुन बिक्री वितरण गरिएको थियो । सम्भावित आपूर्ति अवरोध रोक्न छ महिनासम्म पुग्ने नुन मौज्दातमा राख्ने व्यवस्था पनि गरिएको छ ।
सरकारले ‘थोरै खाऔँ, सही मात्रामा खाऔँ’ भन्ने सन्देशसहित दुई बालबालिका अङ्कित चिह्न भएको आयोडिनयुक्त नुन प्रयोग गर्न आग्रह गर्दै आएको छ । आयोडिन थाइरोइड हर्मोन उत्पादनका लागि अत्यावश्यक सूक्ष्म पोषक तत्व हो, जसले दिमागको विकास, शारीरिक वृद्धि र नियमित शारीरिक क्रियामा महत्वपूर्ण भूमिका खेल्दछ ।
विश्लेषकहरू नुनजस्तो अत्यावश्यक वस्तु सरकारको नीतिगत नियन्त्रणमै रहनुपर्नेमा जोड दिन्छन् । हालको वितरण प्रणालीकै कारण नेपालले कण्ठरोग निवारणमा विश्वसामु उदाहरणीय सफलता हासिल गरेको उनीहरूको भनाइ छ ।