काठमाडौं ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहिताले उमेदवारले प्रयोग गर्ने सवारीसाधनमा कडाइ गरेको छ। आचारसंहिताअनुसार अनुमति नलिइ कुनै पनि उमेदवार वा राजनीतिक दलले सवारीसाधन प्रयोग गर्न पाउने छैनन्।
अनुमति पाएको सवारीसाधनबाहेक अन्य सवारी प्रयोग गरी प्रचारप्रसार गर्न वा प्रचार सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ। अनुमति बिना सवारीसाधन प्रयोग गरेको पाइएमा त्यस्ता सवारी नियन्त्रणमा लिई कारबाही गरिनेछ। ट्राफिक प्रहरी वा अन्य सुरक्षाकर्मीले सवारी नियन्त्रणमा लिएपछि जिल्ला आचारसंहिता अनुगमन समितिलाई जानकारी गराउनुपर्नेछ।
निर्वाचन अधिकृतको अनुमति लिएर सम्बन्धित निर्वाचन क्षेत्र वा उमेदवार भएको स्थानमा आयोगले तोकेबमोजिम बढीमा दुईवटा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे वा चारपाङ्ग्रे—विद्युतीय वा इन्धनबाट चल्ने—सवारीसाधन प्रयोग गर्न सकिने प्रस्ताव गरिएको छ। सवारीसाधन नचल्ने स्थानमा भने बढीमा चारवटा घोडा प्रयोग गर्न सकिने उल्लेख छ।
विदेशी नम्बर प्लेटका सवारीसाधन प्रयोग गर्न नपाइने र त्यस्ता सवारीका लागि कुनै पनि अनुमति नदिइने स्पष्ट गरिएको छ। राजनीतिक दलले प्रक्रिया पूरा गरी स्वीकृत सङ्ख्या र प्रकारका सवारीसाधन मात्र प्रयोग गर्न पाउनेछन्। सवारीसाधनको स्वरूप परिवर्तन गरी प्रयोग गर्न वा गराउन पनि निषेध गरिएको छ।
अनुमति प्राप्त सवारीसाधन अन्य दल वा उमेदवारलाई प्रयोग गर्न दिन नपाइने र अनुमति लिएको सवारी प्रयोग गरी मतदाता ओसारपसार गर्न नपाइने व्यवस्था पनि गरिएको छ। तर हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, किरीयापुत्री, शारीरिक रूपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकका हकमा निर्वाचन अधिकृतले अनुमति दिएको अवस्थामा सवारी प्रयोग गर्न सकिनेछ।
त्यस्तै, राजनीतिक दलले प्रचारप्रसारका लागि आफ्नोतर्फबाट मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्नेछ। आयोगबाट अनुमति प्राप्त मुख्य प्रचारकले हेलिकप्टर प्रयोग गर्न सक्ने व्यवस्था पनि प्रस्तावित आचारसंहितामा समेटिएको छ।