बागलुङ
बागलुङका ग्रामीण क्षेत्र यतिबेला सुन्तलाले पहेँलै भएका छन्। तर उत्पादन प्रशस्त भए पनि किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन्। व्यापारीले सुन्तला बगानमै पुगेर खरिद गर्ने प्रवृत्तिका कारण किसान हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरूको भनाइ छ।
बागलुङको काठेखोला, बागलुङ नगरपालिका, जैमिनी र गलकोट क्षेत्र सुन्तला उत्पादनका लागि प्रसिद्ध मानिन्छन्। यद्यपि शहरी बजारमा प्रतिकिलो १२० रुपैयाँभन्दा बढी पर्ने सुन्तला गाउँबाट व्यापारीले प्रतिकिलो ४० देखि ५० रुपैयाँमै ल्याउने गरेको बागलुङ नगरपालिका–८ सिगानाका किसान टोबहादुर खड्काले बताए। व्यापारीको मनपरी मूल्य निर्धारणका कारण किसान र उपभोक्ता दुवै मारमा परेको उनको भनाइ छ।
उत्पादन भएको सुन्तलाको व्यवस्थित बजारीकरण नहुँदा समस्या झनै जटिल बनेको खड्का बताउँछन्। हरेक वर्ष लाखौँ रुपैयाँ बराबरको सुन्तला उत्पादन हुँदै आए पनि किसान आफैँले बजारसम्म पुर्याएर बिक्री गर्न सक्ने वातावरण अझै नबनेको उनको गुनासो छ।
“सिगानामा सुन्तला अत्यधिक उत्पादन हुन्छ। उत्पादनअनुसारको मूल्य पाउन सके यहाँका किसानको जीवनस्तर माथि उठ्नेमा शंका छैन,” खड्काले भने, “तर साउन–भदौमै व्यापारी गाउँमा आएर बगान नै किन्छन्। हामीले प्रतिकिलो ४०–५० रुपैयाँभन्दा बढी पाउने अवस्था छैन, जबकि उपभोक्ताले बजारमा महँगो मूल्य तिर्नुपर्छ।”
अर्का किसान हरिप्रसाद कँडेलले पनि व्यापारीका कारण किसान र उपभोक्ता दुवै बढी मारमा परेको बताए। किसानबाट सस्तोमा खरिद गरेर बजारमा अस्वाभाविक नाफा लिने प्रवृत्ति बढेको उनको भनाइ छ। “यदि किसानबाट प्रतिकिलो ८० रुपैयाँमा खरिद गरेर बजारमा १०० रुपैयाँमा बिक्री गरियो भने किसान र उपभोक्ता दुवैलाई न्याय हुन्छ,” उनले भने।
कृषि विकास कार्यालयका अनुसार गत वर्ष बागलुङमा २६ करोड ४६ लाख ५४ हजार रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको थियो। सो वर्ष चार हजार ७१.६ मेट्रिक टन सुन्तला फलेको तथ्यांक छ। यस वर्ष भने किसानले भर्खरै सुन्तला टिप्न थालेकाले उत्पादनसम्बन्धी तथ्यांक आउन बाँकी रहेको कार्यालयले जनाएको छ।