काठमाडौं
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले आइतबार बिदाइ भेट गरेका छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, आर्थिक तथा विकास सहकार्य विस्तारलगायत विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
सभामुख घिमिरेले आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरी स्वदेश फर्किन लागेका राजदूत सोङलाई बधाई दिँदै नेपाल–चीन सम्बन्ध सुदृढीकरण, विकास सहकार्य विस्तार तथा दुवै देशका संसदबीच सम्बन्ध मजबुत बनाउन उनले पुर्याएको योगदानको प्रशंसा गरे। उनले राजदूत सोङको नेपाल बसाइ सुखद र स्मरणीय रहेको विश्वास व्यक्त गरे।
भेटमा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव वर्षभरि मनाइएको सन्दर्भ उल्लेख गर्दै सभामुख घिमिरेले सन् २०२५ मा दुवै पक्षबाट आयोजित कार्यक्रमहरूले द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्याएको बताए। उनले नेपाल र चीन असल छिमेकी, घनिष्ठ मित्र र भरपर्दो साझेदारका रूपमा आपसी सम्मान, सहयोग र समझदारीका आधारमा अघि बढिरहेको उल्लेख गरे।
सभामुख घिमिरेले नेपाल एक–चीन सिद्धान्तप्रति पूर्ण प्रतिबद्ध रहेको दोहोर्याउँदै नेपाली भूमिमा चीनको हितविरुद्ध कुनै गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरे। साथै चीनको सहयोगले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भू–जडित मुलुकमा रूपान्तरण गर्ने प्रयासमा योगदान पुगेको बताए। उनले संसदबीचको नियमित भ्रमण र संवादले सम्बन्ध थप सुदृढ भएको उल्लेख गरे।
नेपालले चीन सरकारबाट प्राप्त उदार विकास सहायताप्रति आभार व्यक्त गर्दै सभामुख घिमिरेले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतका तथा अन्य विकास परियोजनाहरू शीघ्र कार्यान्वयन हुनुपर्नेमा जोड दिए।
राजदूत छन सोङले चीनले नेपाललाई कूटनीतिक सम्बन्धमा उच्च प्राथमिकता दिएको उल्लेख गरे। उनले सन् २०२० मा चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनमा उल्लेखनीय प्रगति भएको बताए। साथै नेपाल–चीनबीच जनस्तरको सम्बन्ध सुदृढ भए पनि आर्थिक सहकार्य अझै विस्तार हुनुपर्ने आवश्यकता औँल्याए।
राजदूत सोङले हालै सम्पन्न नेपाल–चीन आर्थिक सहकार्य तथा लगानीसम्बन्धी कार्यशालाको स्मरण गर्दै धेरै चिनियाँ व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहेको बताए। उनले आफ्नो कार्यकालमा सभामुखसहित नेपालका शीर्ष नेतृत्वबाट प्राप्त न्यानो सहयोग सदैव स्मरणीय रहने उल्लेख गरे।