महोत्तरी
पुस महिनासँगै मधेशका जिल्लामा चिसो अत्यधिक बढेपछि गरिब, दलित तथा पिछडिएका समुदायको जनजीवन कष्टकर बनेको छ। बाक्लो हुस्सु र चिसो बतासका कारण दैनिक कामकाज, यातायात, व्यापार तथा खेतीपाती प्रभावित भएका छन्।
मङ्सिर महिनाभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको जनजीवन पुस लागेपछि एक्कासि चिसो बढेपछि प्रभावित भएको हो। महोत्तरी जिल्लाको दक्षिणी क्षेत्रमा बिहानदेखि मध्याह्नसम्म बाक्लो हुस्सु लाग्ने र चिसो बतास चल्ने क्रम बढेपछि गरिब बस्तीको अवस्था झन् कठिन बनेको छ।
मटिहानी–८ का इसराफुल राइनले लगातारको चिसो बतासका कारण काममा निस्कन नसकिएको बताए। “हुस्सु र चिसोले जीवन गुजारामै समस्या भएको छ,” उनले भने।
जिल्लाको सुदूर उत्तरी क्षेत्रमा भने गत शुक्रबारदेखि चिसो बढेको स्थानीयवासीले बताएका छन्। बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा बिहीबारसम्म घाम लागे पनि त्यसयता बाक्लो हुस्सुका कारण चिसो बढेको हो। गौशाला–१० का लक्ष्मीप्रसाद कुशवाहाले बढ्दो चिसोले दैनिक कामकाज प्रभावित भएको बताए।
चिसो बढेपछि मुसहर, डोम, हलखोर, मेस्तरलगायत अति पिछडिएका समुदायका बस्तीमा न्यानो लुगा र दाउराको अभाव देखिएको छ। स्थानीयवासीहरू सडकमा फालिएका प्लास्टिक, झुत्रा लुगा र झित्राझिक्री बालेर ‘घुर’ ताप्न बाध्य छन्। भङ्गाहा–४ रामनगरकी हेमनी सदा मुसहरले चिसो छल्न घुरको धुवाँ नै एकमात्र सहारा बनेको बताइन्।
बाक्लो हुस्सुका कारण यातायात सेवा पनि प्रभावित भएको छ। बिहानको समयमा सडक यातायात चलाउन कठिन भएको चालकहरूले बताएका छन् भने हुस्सुकै कारण जनकपुर विमानस्थलबाट सञ्चालन हुने मध्याह्नअघिका हवाई उडानहरू प्रभावित हुँदै आएका छन्।
चिसो बढेसँगै बजारको चहलपहल घटेको छ। व्यापार व्यवसाय सुस्त हुनुका साथै किसानहरू खेतीपातीका काममा बिहानै निस्कन नसक्ने अवस्था सिर्जना भएको छ। गौशाला बजारका व्यापारी अजय साहका अनुसार लगातारको चिसो सिरेटो र मधुरो घामका कारण बजार सुनसान हुन थालेको छ।
बढ्दो जाडोले वृद्धवृद्धा, सुत्केरी महिला र साना बालबालिका बढी जोखिममा परेको स्थानीयवासीको भनाइ छ। न्यानो लुगा, पोषणयुक्त खाना र सुरक्षित बसोबासको अभावमा गरिब तथा दलित बस्तीहरूमा चिसोको प्रभाव झन् गम्भीर देखिएको छ।