काठमाडौं
गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक्स सर्किट अन्तर्गत नयाँ पदमार्ग विकास गरिने भएको छ।
नयाँ अन्वेषण गरिएको पदमार्गले गोरखा जिल्लाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालिका तथा लमजुङ जिल्लाको दूधपोखरी, दोर्दी र मर्स्याङ्दी गाउँपालिकालाई समेट्ने जनाइएको छ।
पदमार्ग विकाससम्बन्धी कार्ययोजनाको तयारीका लागि गोरखाको अजिरकोट गाउँपालिका–भच्चेकमा आयोजना गरिएको तीनदिने क्षमता अभिवृद्धि तालिम आइतबार सम्पन्न भएको छ। नयाँ पदमार्गको विकास, प्रवर्द्धन र व्यवस्थापनमा सरोकारवालाको क्षमता सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा पाँचै पालिकाका उपाध्यक्ष, पर्यटन उद्यमी, सामुदायिक वन उपभोक्ता समूह, पशुधन उद्यमी तथा सांस्कृतिक समूहका प्रतिनिधिसहित २५ जनाको सहभागिता रहेको थियो।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को दिगो पर्यटन परियोजनाको सहयोगमा आयोजित तालिममा पदमार्गमा आधारित पर्यटन विकास, प्रवर्द्धन र व्यवस्थापनका विषयमा छलफल गरिएको थियो।
तालिमको समापनका अवसरमा पाँच वर्षे पदमार्ग विकास, प्रवर्द्धन तथा व्यवस्थापन कार्ययोजना प्रस्तुत गरिएको छ। साथै २१ सदस्यीय बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक्स सर्किट पदमार्ग विकास, प्रवर्द्धन तथा व्यवस्थापन समिति गठन गरिएको छ।
समितिको नेतृत्व पाँचै गाउँपालिकाका उपाध्यक्षले आलोपालोका आधारमा गर्ने व्यवस्था गरिएको छ भने अन्य चार पालिकाका उपाध्यक्ष, पर्यटन उद्यमी तथा सरोकारवालासहित २० जना सदस्य रहनेछन्।
समापन कार्यक्रममा नेपाल ट्रेकिङ एजेन्सिज एशोसिएशन (नाट्टा) का अध्यक्ष सागर पाण्डे तथा पाँचै गाउँपालिकाका अध्यक्षहरूले नयाँ पदमार्गले क्षेत्रीय पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
तालिममा प्राविधिक स्रोत व्यक्तिका रूपमा डा. चेतनाथ कनेल र इञ्जिनियर कृष्ण गौतमले सहजीकरण गरेका थिए भने कार्यक्रमको संयोजन अम्बिर बड्र गुरुङ, युवराज लामा र पवित्रा तामाङले गरेका थिए।