वालिङ (स्याङ्जा)
जाडो मौसममा कागती दानाको माग घटेपछि स्याङ्जाको वालिङ नगरपालिकाका किसानहरू वैकल्पिक उपाय अपनाउन बाध्य भएका छन्। बजारमा खपत नहुँदा बिग्रिन सक्ने कागतीबाट रस र चुक बनाएर बिक्री गर्न थालेका हुन्।
वालिङ–१४ स्थित न्यौपाने नर्सरी कृषि तथा पशुपालन फार्मका सञ्चालक प्रकाश न्यौपानेका अनुसार जाडो लागेसँगै कागती दानाको बिक्री घटेको छ। उनले व्यावसायिक रूपमा उत्पादन गरेको झन्डै छ क्विन्टल कागतीमध्ये चार क्विन्टल बिक्री हुन नसकेपछि रस र चुक बनाउनुपरेको बताए।
“बोटबाट कागती झर्न थाले तर बजारमा खपत भएन,” न्यौपानेले भने, “कुहाएर फाल्नुभन्दा लामो समयसम्म टिक्ने भएकाले चुक र केही समयसम्म टिक्ने रस बनाएर बिक्री गर्न थालेको हुँ।” कागतीको चुक प्रतिलिटर एक हजार ६०० रुपैयाँमा बिक्री भइरहेको उनले बताए।
स्थानीय अगुवा किसानका रूपमा चिनिएका न्यौपानेजस्तै अन्य किसानहरू पनि उत्पादन भएका कृषिजन्य वस्तुले बजार नपाएपछि वैकल्पिक उपाय अपनाइरहेका छन्। वालिङ–१४ र भिरकोट नगरपालिका–९ का किसानहरूले उत्पादन गरेका सागसब्जी, फलफूल, सुन्तला, कागती, च्याउ, मह, अकबरे खुर्सानी र अदुवालगायतका वस्तु सहकारीमार्फत सामूहिक रूपमा बजारीकरण गर्ने तयारीमा छन्।
भौगोलिक विकटता र यातायातको सीमित पहुँचका कारण बजारीकरणमा समस्या भएको किसानहरूको भनाइ छ।
वालिङ–१४ अमलडाँडाका व्यावसायिक कागती उत्पादक यामप्रसाद पौडेलले साउनयता करिब आठ टन कागती बिक्री गरेको बताए। जाडो सुरु भएसँगै बिक्री घटेपछि उनले करिब एक टन कागती पेलेर रस बनाएका छन्। हाल उनीसँग झन्डै पाँच सय लिटर कागती रस भण्डारणमा रहेको छ।
“जाडोमा कागतीको माग निकै कम हुन्छ,” पौडेलले भने, “बाँकी कागतीलाई रस बनाएर प्रशोधन गर्दा लामो समयसम्म उपयोग गर्न सकिन्छ।” उनका अनुसार उचित भण्डारण व्यवस्था भएमा गर्मी सुरु भएसँगै राम्रो मूल्य पाउने सम्भावना छ।