काठमाडौं
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ सम्पन्न भएसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीको ध्यान अब आईसीसी टी–२० विश्वकपतर्फ केन्द्रित भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार सार्वजनिक गरेको विश्वकपको प्रारम्भिक टोलीमा एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका नयाँ तथा पुनरागमन गरेका खेलाडीहरूलाई समेटिएको छ।
क्यानले घोषणा गरेको २४ सदस्यीय प्रारम्भिक टोलीमा नियमित राष्ट्रिय खेलाडीका साथै एनपीएलमा प्रभाव जमाएका विनोद भण्डारी, शेर मल्ल, अविनास बोहोरा, इशान पाण्डे र प्रतिश जि.सी जस्ता खेलाडी समावेश छन्। यसले एनपीएलको प्रदर्शनले विश्वकप छनोटमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पारेको संकेत दिएको छ।
आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ। नेपाल रहेको समूहमा इङ्ल्यान्ड, बंगलादेश, वेष्ट इन्डिज र इटाली रहेका छन्। नेपालले माघ २५ गते (फेब्रुअरी ८) इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। त्यसपछि इटालीसँग माघ २९ गते, वेष्ट इन्डिजसँग फागुन ३ गते र बंगलादेशसँग फागुन ५ गते प्रतिस्पर्धा गर्ने तालिका छ।
एनपीएललाई लिएर छनोट बहस
क्यानले एनपीएललाई आधिकारिक विश्वकप छनोट प्रतियोगिता घोषणा नगरे पनि अधिकांश खेलाडीले त्यसलाई राष्ट्रिय टोलीमा फर्किने वा स्थान सुरक्षित गर्ने अवसरका रूपमा लिएका थिए। क्रिकेट विश्लेषकहरूका अनुसार एनपीएलमा गरिएको प्रदर्शनले प्रारम्भिक टोली चयनमा केही हदसम्म प्रभाव पारेको देखिन्छ।
प्रारम्भिक टोलीमा समेटिएका खेलाडीहरू त्यसको प्रमाण हुन्। एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका विनोद भण्डारी, शेर मल्ल र अविनास बोहोराले राष्ट्रिय टोलीमा पुनः अवसर पाएका छन्। विशेषगरी मल्ल र बोहोराले एनपीएलमा सन्दीप लामिछानेसँगै सर्वाधिक १७–१७ विकेट लिएका थिए।
तर एनपीएलमा लामो समयदेखि राष्ट्रिय टोलीमा रहेका केही खेलाडीले भने अपेक्षित प्रदर्शन गर्न सकेनन्। कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, ललित राजवंशी, नन्दन यादव र आदिल आलमजस्ता खेलाडीहरूको प्रदर्शन सन्तोषजनक रहेन।
विनोद भण्डारीको असन्तुष्टि
एनपीएलको पहिलो र दोस्रो सिजनमा निरन्तर राम्रो प्रदर्शन गरेका ओपनर विनोद भण्डारी राष्ट्रिय टोलीबाट बाहिरिँदै आएका खेलाडीमध्ये एक हुन्। यस सिजनमा उनी नेपाली ब्याटरमध्ये दोस्रो सर्वाधिक रन बनाउने खेलाडी बने।
यद्यपि, राष्ट्रिय टोली छनोटलाई लिएर उनले सार्वजनिक रूपमा असन्तुष्टि पनि व्यक्त गरेका थिए।
उनले भनेका थिए, “एनपीएल छनोट म्याच हो भनेर कसले भन्छ? पहिला त्यो घोषणा हुनुपर्यो। अघिल्लो संस्करणमा पनि राम्रो खेलेँ, तर क्याम्पमै परिन।”
उनको प्रश्न धेरै खेलाडीको साझा आवाज बनेको छ— राम्रो प्रदर्शन गर्ने खेलाडी किन बाहिरिन्छन् र कमजोर प्रदर्शन गर्ने किन निरन्तर टिममा रहन्छन्?
बलिङ युनिटमा परिवर्तनको संकेत
राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटाले एनपीएलको प्रदर्शनले अन्तिम टोलीमा केही परिवर्तन ल्याउन सक्ने बताए।
उनका अनुसार, “एनपीएलमा राष्ट्रिय टोलीका केही खेलाडी नचलेपछि नयाँ खेलाडीका लागि अवसर खुलेको छ। विशेषगरी बलिङ, खासगरी स्पिन विभागमा परिवर्तन देखिन सक्छ।”
यसपटक नेपालको ब्याटिङ लाइनअपमा ठूलो परिवर्तनको सम्भावना कम देखिए पनि बलिङ युनिटमा भने नयाँ अनुहार देखिने संकेत छ। शेर मल्लले अन्तिम टोलीमा स्थान बनाउने सम्भावना बलियो मानिएको छ।
मुख्य प्रशिक्षक स्टुआर्ट ल ले पनि अभ्यास र हालको प्रदर्शनकै आधारमा अन्तिम टोली चयन गर्ने संकेत दिँदै आएका छन्।
नेपालको प्रारम्भिक टोली
रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, आदिल आलम, करण केसी, साहब आलम, शेर मल्ल, भीम सार्की, इशान पाण्डे, बसिर अहमद, विनोद भण्डारी, अविनास बोहोरा, प्रतिश जि.सी र रुपेश सिंह।