काठमाडौँ ।
युक्रेनमा जारी युद्ध अन्त्यका प्रयासस्वरूप संयुक्त राज्य अमेरिकासँग भएको पछिल्लो वार्तामा केही प्रगति देखिएको दाबी गरिए पनि ठोस उपलब्धि हासिल नभएको रुसले जनाएको छ। फ्लोरिडाको मियामीमा सप्ताहन्तमा भएको उच्चस्तरीय छलफलले लामो समयदेखिको गतिरोध तोड्न नसकेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकोफ र जारेड कुश्नरसँग छुट्टाछुट्टै वार्ताका लागि रुस र युक्रेन दुवैले आफ्ना प्रतिनिधि फ्लोरिडा पठाएका थिए। वार्तापछि प्रतिक्रिया दिँदै रूसी उपविदेशमन्त्री सर्गेई र्याबकोभले प्रगति ‘अत्यन्तै ढिलो’ भएको बताए। यता अमेरिकी दूत विटकोफले भने दुवै पक्षसँग ‘रचनात्मक’ छलफल भइरहेको भन्दै वार्ताको वातावरण सकारात्मक रहेको दाबी गरे। तर, अहिलेसम्म कुनै ठोस सहमति वा उपलब्धिको सङ्केत देखिएको छैन।
गत महिना वाशिङ्गटनले क्रेमलिनको मागलाई समेटेर प्रस्तुत गरेको प्रस्तावलाई युक्रेन र केही युरोपेली देशहरूको दबाबपछि पुनः मस्यौदा गरिएको थियो। तर, नयाँ प्रस्तावमा के–कस्ता बुँदा समावेश छन् भन्ने विवरण सार्वजनिक गरिएको छैन।
रुसले नवनिर्वाचित राष्ट्रपति ट्रम्पसँग प्रत्यक्ष सम्झौता गर्न प्राथमिकता दिएको संकेत देखिएको छ। वार्तामा युरोपेली देशहरूको संलग्नताप्रति रुसले असन्तुष्टि व्यक्त गर्दै आएको छ। उपविदेशमन्त्री र्याबकोभले सोमबार वाशिङ्गटनलाई युरोपेली नेताहरूलाई वार्ताको प्रक्रियाबाट अलग राख्न दबाब दिएको बताएका छन्।
यसबीच बेलायत, फ्रान्स र जर्मनीसहितका युरोपेली मुलुकहरूले युद्ध अन्त्यको सम्झौता भएमा युक्रेनमा शान्ति सेना तैनाथ गर्न सक्ने प्रस्ताव अघि सारेका छन्। तर, रुसले उक्त प्रस्तावलाई ‘अस्वीकार्य’ भन्दै अस्वीकार गरेको छ।
महिनौँदेखि जारी सघन कूटनीतिक प्रयासका बाबजुद किएभ र मस्कोबीच प्रत्यक्ष वार्ता सुरु हुने वा तत्काल कुनै सम्झौतामा पुग्ने स्पष्ट संकेत अझै देखिएको छैन।