वालिङ (स्याङ्जा)
स्याङ्जाको वालिङ नगरपालिका–१२ मा अवस्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। पहाडको टाकुरोमा फैलिएको समथर तथा केही भिरालो खुला चौरबाट स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा र कास्की जिल्लाका विभिन्न भूभाग देख्न सकिन्छ। साथै उत्तरतर्फ माछापुच्छ्रे, अन्नपूर्ण, नीलगिरि र धवलागिरि हिमशृङ्खलाको मनमोहक दृश्यावलोकन गर्न सकिने भएकाले यो स्थान लोकप्रिय बन्दै गएको हो।
पर्यटकीय सम्भावना बोकेको यस स्थानलाई व्यवस्थित रूपमा विकास गर्ने उद्देश्यसहित पूर्वाधार निर्माणका कामहरू भइरहेको वालिङ–१२ का वडाध्यक्ष विश्वजङ्ग गुरुङले जानकारी दिनुभयो। उहाँका अनुसार वडा, नगरपालिका, प्रदेश तथा सङ्घीय सरकारको बजेटमार्फत विभिन्न चरणमा पर्यटन पूर्वाधार निर्माण भइरहेको छ।
“गाउँबाट सहरतर्फ बसाइँसराइ बढ्दै गएकाले स्थानीयलाई गाउँमै रोजगारी र आम्दानीसँग जोड्ने उद्देश्यले राम्चेडाँडालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिरहेका छौँ,” वडाध्यक्ष गुरुङले भन्नुभयो। उहाँका अनुसार भवन, प्रतीक्षालय, चौपारी, सबै उमेर समूहका लागि उपयुक्त पिङ, शौचालयलगायत संरचना वडा, नगर, प्रदेश, सङ्घ तथा स्थानीयको जनश्रमदान र व्यक्तिगत सहयोगमा निर्माण गरिएको छ।
राम्चेडाँडामा २०७९ सालदेखि हालसम्म सरकारी बजेट तथा स्थानीय समुदाय र सहयोगदाताको सहयोगमा करिब ४५ देखि ५० लाख रुपैयाँ बराबरको लगानी भइसकेको वडाध्यक्ष गुरुङले बताउनुभयो। यद्यपि, प्रचारप्रसारको अभावका कारण यस स्थानले अझै अपेक्षित पर्यटक तान्न नसकेको उहाँको भनाइ छ। प्रभावकारी प्रचार गर्न सके पर्यटक आगमन अझै बढ्ने विश्वास स्थानीयको छ।
विशेषगरी सार्वजनिक बिदाका दिनमा विद्यालय, सङ्घसंस्था, क्लब तथा विभिन्न समूहहरू वनभोज र दृश्यावलोकनका लागि यहाँ आउने गरेका छन्। वनभोजका लागि आवश्यक खानेपानी, विद्युत्, भाँडाकुँडा, ग्यास तथा दाउराको व्यवस्था स्थानीय ‘भाउजु समूह’ले गरिदिने सृजना भाउजु समूहकी अध्यक्ष भागिमा गुरुङले बताउनुभयो।
राम्चेडाँडासँगै गुरुङ समुदायको बस्ती रहेको छाप गाउँ पनि अवस्थित छ। दसैँ–तिहार, अन्य बिदा तथा शुक्रबार–शनिबारका दिन यहाँ पर्यटकको चहलपहल बढ्ने गरेको छ। कच्ची सडक पुगेकाले जीप र मोटरसाइकलमार्फत राम्चेडाँडामा सहज रूपमा पुग्न सकिन्छ।
केही दिनअघि राम्चेडाँडा पुगेका वालिङ–८ का जीवलाल काफ्लेले यस स्थानलाई अत्यन्तै आकर्षक र दृश्यावलोकनका लागि उपयुक्त रहेको प्रतिक्रिया दिनुभयो। “सुनेको मात्र थिएँ, तर पुगेर हेर्दा साँच्चिकै मनमोहक लाग्यो,” उहाँले भन्नुभयो।
पूर्वाधार विकाससँगै राम्चेडाँडामा आन्तरिक पर्यटकको आगमन क्रमशः बढ्दै गएको स्थानीयको भनाइ छ।