काठमाडौं
प्रतिनिधिसभा सदस्यको निर्वाचन फागुन २१ गतेका लागि तय भएको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन र ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत चयन हुने व्यवस्था छ।
निर्वाचन आयोगले स्पष्ट गरेको छ कि सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका व्यक्तिहरू समानुपातिकतर्फको उम्मेदवार सूचीमा समावेश भए अयोग्य मानिनेछन्।
समानुपातिक निर्वाचन (पहिलो संशोधन) निर्देशिका, २०८२ अनुसार भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन, आगुऔषध सम्बन्धी अपराध, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण जस्ता अपराधमा सजाय भोगेका उम्मेदवार अयोग्य हुनेछन्।
त्यस्तै, जन्मकैद वा २० वर्षभन्दा बढी कैद सजाय पाएका फौजदारी अपराधी, कर्तव्य ज्यान सम्बन्धी २० वर्षभन्दा कम कैद भोगेका तथा संगठित अपराधमा सजाय भोगेका उम्मेदवार पनि अयोग्य हुने कानुनी व्यवस्था छ। जातीय भेदभाव, बहुविवाह वा छुवाछुतसम्बन्धी अपराधमा सजाय पाएका उम्मेदवार भने तीन वर्ष भुक्तान अवधि पूरा नगरेसम्म उम्मेदवार हुन पाउँदैनन्।
कालोसूचीमा रहेका, कैदमा रहेका, मानसिक सन्तुलन ठीक नभएका वा विदेशी स्थायी आवासीय अनुमति प्राप्त व्यक्तिहरू पनि उम्मेदवार हुन सक्दैनन्।
योग्य उम्मेदवार हुनका लागि व्यक्ति नेपाली नागरिक हुनुपर्ने, अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, २५ वर्ष उमेर पूरा भएको, संघीय कानुनले अयोग्य नभएको र कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्ने कानुनी प्रावधान रहेको छ।