काठमाडौं ।
भारत सरकारको आर्थिक सहयोगमा गुल्मी जिल्लामा विद्यालय भवन निर्माणको शिलान्यास गरिएको छ ।
गुल्मीको धुर्कोट गाउँपालिका–३ स्थित श्री निन्यूखर्क माध्यमिक विद्यालयका लागि निर्माण गरिने भवनको शिलान्यास काठमाडौंस्थित भारतीय राजदूतावासकी काउन्सलर गीतांजलि ब्रैंडन र धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले संयुक्त रूपमा आज गरेका हुन् ।
भारत सरकारको आर्थिक सहयोगमा करिब नेरु ३ करोड ८० लाख लागतमा निर्माण हुन लागेको उक्त विद्यालय भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) अन्तर्गत अघि बढाइएको हो । परियोजना धुर्कोट गाउँपालिकामार्फत कार्यान्वयन गरिने जनाइएको छ ।
नयाँ पूर्वाधार अन्तर्गत फर्निचरसहितका कक्षाकोठा, प्रशासनिक कक्ष तथा अन्य सहयोगी संरचनासहितको दुईतले विद्यालय भवन निर्माण गरिनेछ । भवन निर्माणपछि विद्यालयको शैक्षिक वातावरण र भौतिक पूर्वाधारमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ ।
शिलान्यास समारोहमा धुर्कोट गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाहरूले भारत सरकारले शिक्षा क्षेत्रलगायत विभिन्न विकास आयोजनामा निरन्तर रूपमा प्रदान गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे ।
नजिकका छिमेकी तथा विकास साझेदार राष्ट्रका रूपमा नेपाल र भारतबीच शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत विभिन्न क्षेत्रमा बहुआयामिक सहकार्य रहँदै आएको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूको कार्यान्वयनले नेपाल सरकारको विकास र समृद्धिको लक्ष्य हासिल गर्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्ने बताइएको छ ।