एजेन्सी ।
भारतको केन्द्र तथा विभिन्न राज्यहरूमा सत्तारूढ रहेको भारतीय जनता पार्टी (भाजपा) देशकै सबैभन्दा धनी राजनीतिक दल भएको तथ्य सार्वजनिक भएको छ । निर्वाचन आयोगमा बुझाइएको विवरणअनुसार भाजपाको बैंक ब्यालेन्स ६९ सय करोड भारु भन्दा बढी रहेको छ ।
दिल्ली विधानसभा चुनाव सम्पन्न भएपछि राजनीतिक दलहरूले निर्वाचन आयोगमा पेश गरेको वित्तीय विवरणमा भाजपाको खातामा रहेको यो विशाल रकम देखिएको हो । यसको प्रमुख प्रतिद्वन्द्वी भारतीय राष्ट्रिय कांग्रेससँग भने पार्टी मुख्यालय, राज्य तथा जिल्ला एकाइहरू सबै जोड्दा जम्मा ५३ करोड भारु मात्र बैंक मौज्दात रहेको छ ।
चुनावी रूपमा हाल सक्रिय नरहे पनि बहुजन समाज पार्टी (बसपा) सँग ५८० करोड भारु भन्दा बढीको निक्षेप यथावत रहेको आयोगको विवरणमा उल्लेख छ ।
यसैबीच, अक्टोबर २४ मा निर्वाचन आयोगमा बुझाइएको चन्दा विवरणअनुसार कांग्रेसले आर्थिक वर्ष २०२४–२५ मा ५१७ करोड भारु चन्दा प्राप्त गरेको घोषणा गरेको छ । यो विवरण २० हजार भारु भन्दा माथिका खुलाइएका चन्दाहरूको कुल योगफल हो ।
कानुनी प्रावधानअनुसार राजनीतिक दलहरूले २० हजार भारु भन्दा कम चन्दा दिने दाताहरूको नाम सार्वजनिक गर्नुपर्दैन । यद्यपि दलहरूको कुल चन्दा संकलनमा साना–साना चन्दाहरूको योगदान उल्लेखनीय हुने गरेको बताइन्छ । राजनीतिक दलहरूका लागि कोष संकलनका प्रमुख स्रोतमा व्यक्तिगत दाता, कर्पोरेट क्षेत्र तथा विभिन्न ट्रस्टहरू पर्दछन् ।
दिल्ली विधानसभा चुनावपछि बैंक ब्यालेन्स सार्वजनिक गर्ने अन्य दलहरूमध्ये आम आदमी पार्टी (आप) सँग ९.९ करोड भारु, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) सँग ४ करोड भारु र भारतीय कम्युनिस्ट पार्टीसँग ४१ लाख भारु मात्र रहेको देखिएको छ ।
बिहार विधानसभा चुनावपछि भने निर्वाचन आयोगले हालसम्म कुनै पनि दलको चन्दा सम्बन्धी विवरण प्राप्त नगरेको जनाएको छ ।