जनकपुरधाम
नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशनबाट रामेछापका जीवन कार्की राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका छन्। साधारण पारिवारिक पृष्ठभूमिबाट निरन्तर मेहनत, संगठनप्रतिको समर्पण र नेतृत्व अभ्यासमार्फत अघि बढेका कार्की अब देशभरका १८ देखि ४० वर्ष उमेर समूहका युवाको नेतृत्व गर्ने जिम्मेवारीमा पुगेका छन्।
कार्कीको निर्वाचनलाई केवल नेतृत्व परिवर्तनका रूपमा मात्र होइन, नेपाल जेसिजभित्र लामो समयदेखि चल्दै आएको गुटबन्दी, शक्ति सन्तुलन र राजनीतिक छायामाथि पुनः बहस सुरु गराउने महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ। यस अर्थमा उनको नेतृत्व जेसिजको इतिहासमा नयाँ अध्याय मात्र होइन, आत्म–परीक्षण र सुधारको अवसरसमेत बनेको छ।
नेपाल जेसिज कुनै राजनीतिक दलको भातृ संगठन होइन। सन् १९१५ मा अमेरिकाबाट सुरु भएको जुनियर च्याम्बर इन्टरनेशनल (JCI) आन्दोलनको मूल दर्शन नै नेतृत्व विकासमार्फत सकारात्मक परिवर्तन हो। यही दर्शन बोकेर नेपाल जेसिजले स्थापना कालदेखि आफूलाई गैर–राजनीतिक, गैर–नाफामुखी र स्वतन्त्र युवा संगठनका रूपमा प्रस्तुत गर्दै आएको छ। जेसिजको लक्ष्य सत्ता प्राप्ति होइन, सेवा र मूल्यमा आधारित नेतृत्व विकास हो।
जेसिजको योगदानलाई नजरअन्दाज गर्न मिल्दैन। राजनीति, प्रशासन, निजी क्षेत्र, शिक्षा, पत्रकारिता र सामाजिक क्षेत्रमा स्थापित धेरै व्यक्तित्व जेसिज पृष्ठभूमिबाट आएका छन्। लोकतन्त्र, मानव अधिकार, सुशासन, मतदाता शिक्षा, उद्यमशीलता, सीप विकास, स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा स्थानीय जेसिज शाखाहरूले गरेका कामले संस्थालाई राष्ट्र निर्माणको सहयात्रीका रूपमा स्थापित गरेको छ।
तर पछिल्ला वर्षहरूमा जेसिजभित्र देखिएको गुटबन्दी र शक्ति समूहको प्रभावले संस्थाको गैर–राजनीतिक पहिचानमाथि प्रश्न उठाएको छ। नेतृत्व चयनका बेला खुलेआम वा पर्दा पछाडि हुने राजनीतिक परिचालन, समूहगत सहमति र शक्ति सन्तुलनको खेलले जेसिजलाई स्वतन्त्र युवा संगठनभन्दा बढी शक्ति केन्द्रको विस्तारजस्तो देखाउने खतरा बढाएको छ।
विशेष गरी पूर्वअध्यक्षहरू, जसलाई जेसिजको भाषामा ‘दाइ’ वा ‘बा’ भनेर सम्मान गरिन्छ, उनीहरूको भूमिकामाथि गम्भीर बहस आवश्यक देखिएको छ। अनुभव र योगदान बोकेका पूर्वअध्यक्षहरूको मार्गदर्शन संस्थाका लागि मूल्यवान् हुनसक्छ। तर जब यही मार्गदर्शन गुट निर्माण, उम्मेदवार छनोट र नेतृत्व नियन्त्रणमा रूपान्तरण हुन्छ, त्यतिबेला सम्मान हस्तक्षेपमा बदलिन्छ।
नेतृत्व विकास गर्ने संस्थामा नेतृत्व चयन प्रक्रिया नै सबैभन्दा पारदर्शी र निष्पक्ष हुनुपर्ने मान्यता रहन्छ। तर जेसिजभित्र योगदान, क्षमता र दृष्टिकोणभन्दा बढी गुट र ‘दाइ–बा’ को समर्थन निर्णायक बन्ने गुनासो पटक–पटक उठ्दै आएको छ। यसले स्वतन्त्र सोच र इमानदार योगदान भएका युवालाई निरुत्साहित गर्ने खतरा रहेको जानकारहरू बताउँछन्।
जेसिज राजनीतिविरोधी संस्था होइन, तर राजनीतिक शैलीको शक्ति खेल स्वीकार्ने संस्था पनि होइन। सदस्यहरूको व्यक्तिगत राजनीतिक विचार स्वाभाविक भए पनि संस्थागत निर्णय र नेतृत्व चयनमा दलगत वा समूहगत हस्तक्षेप अस्वीकार्य हुनुपर्छ। जेसिजले नेतृत्व उत्पादन गर्न सक्छ, तर स्वयं कुनै दल वा व्यक्तिको प्रशिक्षण केन्द्र बन्नु हुँदैन।
यही पृष्ठभूमिमा नव–निर्वाचित अध्यक्ष जीवन कार्कीको भूमिका निर्णायक मानिएको छ। उनको जीवन यात्रा संघर्ष, निरन्तरता र संगठनप्रतिको निष्ठाको उदाहरणका रूपमा हेरिन्छ। तर अब चुनौती व्यक्तिगत सफलता होइन, संस्थागत सुधार हो। विश्लेषकहरूका अनुसार कार्कीले ‘दाइ–बा’ हरूको अनुभवको सम्मान गर्दै, तर हस्तक्षेपलाई स्पष्ट रूपमा सीमित गरी संस्थागत प्रक्रिया बलियो बनाउनु आवश्यक छ।
नेतृत्व चयनमा पारदर्शिता, योगदानको मूल्यांकन र स्पष्ट मापदण्ड लागू गर्नु अब विकल्प होइन, आवश्यकता बनेको छ। ‘कुन गुटको हो ?’ वा ‘कुन दाइ–बा को समर्थन छ ?’ भन्ने प्रश्नको सट्टा योग्यता, नैतिकता र दृष्टिकोणलाई निर्णायक बनाउने संस्कार विकास गर्नुपर्ने आवाज बलियो हुँदै गएको छ।
आजको नेपाली युवा रोजगारी, शिक्षा, उद्यमशीलता, सुशासन र भविष्यप्रति चिन्तित छ। ती मुद्दालाई साझा राष्ट्रिय दृष्टिकोणबाट उठाउने स्वतन्त्र मञ्चको आवश्यकता छ। नेपाल जेसिज त्यो मञ्च बन्नसक्ने क्षमता राख्छ, तर त्यसका लागि व्यवहारमै गैर–राजनीतिक र मूल्य–आधारित संस्था भएको प्रमाण दिनुपर्नेछ।
५२औँ राष्ट्रिय महाधिवेशन नेतृत्व परिवर्तनसँगै सोच परिवर्तनको अवसरका रूपमा हेरिएको छ। जीवन कार्कीको कार्यकालले जेसिज गुटबन्दी र शक्ति समूहको प्रभावबाट बाहिर निस्केर पारदर्शिता, योग्यता र संस्थागत मूल्यमा आधारित संगठनका रूपमा पुनःस्थापित हुन सक्छ कि सक्दैन भन्ने प्रश्नको उत्तर दिनेछ।
अन्ततः नेपाल जेसिज कुनै व्यक्ति, गुट वा दलको होइन, नेपाली युवाको साझा संस्था हो। पद र पहुँचका लागि होइन, भविष्य निर्माणका लागि बनेको आन्दोलन हो। नव–निर्वाचित अध्यक्ष जीवन कार्कीको नेतृत्वमा जेसिज शक्ति होइन, मूल्यले चल्ने, गुट होइन, योग्यता बोल्ने र राजनीतिक छायाभन्दा माथि उठेको युवा मञ्चका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।